काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को महानिर्देशकमा अर्थशास्त्री तथा निजी क्षेत्र विकास विज्ञ डा. गोपालप्रसाद तिवारी नियुक्त भएका छन् ।

महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बुधबार सचिवालयमा तिवारीलाई आगामी १ असोज २०८३ देखि लागू हुने गरी नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् ।

तिवारीलाई स्वागत गर्दै अध्यक्ष श्रेष्ठले उनको प्राज्ञिक दक्षता, बहुपक्षीय अनुभव तथा निजी क्षेत्रको वकालतमा हासिल गरेको व्यावहारिक ज्ञान महासंघका लागि महत्वपूर्ण हुने बताए ।

‘नेपालको आर्थिक संरचनामा डा. तिवारीको गहिरो पकड, बृहत् अन्तर्राष्ट्रिय अनुभव र सरोकारवालाको विश्वासले महासंघको संस्थागत छविलाई थप उचाइमा पुर्‍याउनेछ,’ श्रेष्ठले भने, ‘नीतिगत पैरवीलाई प्रभावकारी बनाउन, उच्च प्रभावकारी सुधारका कार्यसूची कार्यान्वयन गर्न तथा नेपाली उद्यमका लागि गतिशील र विश्वव्यापी रूपमा प्रतिस्पर्धी वातावरण निर्माण गर्न उहाँको नेतृत्व महत्वपूर्ण हुनेछ ।’

तिवारीको नियुक्तिसँगै महासंघमा उनको पुनरागमन भएको हो । यसअघि उनले सन् २०१८ देखि २०१९ सम्म महासंघको कार्यवाहक महानिर्देशकका रूपमा सचिवालयको नेतृत्व सम्हालेका थिए ।

बृहत् आर्थिक नीति, लगानी सुधार तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) का क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव रहेका तिवारीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा कार्यकारी र सल्लाहकारका रूपमा काम गरिसकेका छन् ।

उनले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) तथा विश्व बैंक समूह, एसियाली विकास बैंक (एडीबी), संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) लगायतका संस्थामा काम गरेका छन् । पछिल्लो समय उनले यूएसएडको ‘तयार नेपाल’ परियोजनामा निजी क्षेत्र समन्वय निर्देशकका रूपमा जिम्मेवारी सम्हालेका थिए ।

यसअघि तिवारी बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का महानिर्देशक, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वरिष्ठ प्राविधिक विज्ञ तथा नेपाल–जर्मन उद्योग वाणिज्य संघका रणनीतिक सल्लाहकारका रूपमा कार्यरत थिए ।

उनी नेपाल आर्थिक संघका मानार्थ महासचिव, नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्वअध्यक्ष तथा नर्वेस्थित फिल. डा. जान–यू. सान्डल इन्स्टिच्युटका वरिष्ठ अनुसन्धान फेलोसमेत हुन् । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरअन्तर्गत सार्वजनिक नीति, सुशासन तथा भ्रष्टाचारविरोधी अध्ययन विभागमा उनी प्राध्यापनसमेत गर्दै आएका छन् ।

व्यावसायिक जीवनको प्रारम्भिक चरणमा तिवारीले कान्तिपुर मिडिया ग्रुप, द हिमालयन टाइम्स र स्पेस टाइम टुडेलगायतका राष्ट्रिय दैनिकमा वरिष्ठ आर्थिक पत्रकारका रूपमा समेत काम गरेका थिए ।

प्रकाशित मिति: ३१ भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com