काठमाडौं । छुट जग्गा दर्तासम्बन्धी सिफारिससहितको मिसिल भूमि प्रशासन कार्यालयमा पठाइदिने भन्दै सेवाग्राहीसँग ९ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी अधिकृत पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार काठमाडौँको डिल्लीबजारस्थित ३ नम्बर नापी टोली, माछापोखरीका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वली पक्राउ परेका हुन् ।
आयोगमा परेको सूचना तथा उजुरीका आधारमा टंगालबाट खटिएको टोलीले वलीलाई भदौ ३१ गते टोखा नगरपालिका–५ स्थित वसुन्धरा चोकको एक रेस्टुरेन्टबाट ९ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
छुट जग्गा दर्ताको सिफारिससहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाउन अनावश्यक दुःख, सास्ती तथा हैरानी दिई घुस मागेको भन्ने उजुरी परेपछि आयोगले अनुसन्धान अघि बढाएको जनाएको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिअनुसार वलीविरुद्ध घुस–रिसवतसम्बन्धी भ्रष्टाचारको आरोपमा अनुसन्धान भइरहेको छ ।
आयोगका अनुसार वलीलाई असोज १ गते विशेष अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
घुस रकमसहित पक्राउ परेका वलीमाथि भ्रष्टाचार निवारण ऐनबमोजिम थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
प्रकाशित मिति: १ आश्विन २०८३, बिहिबार












प्रतिक्रिया