काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई १५औँ महाधिवेशनको कार्यतालिका केही समयका लागि स्थगित गरेर पूर्वसभापति शेरबहादुर देउवासहित अग्रज नेताहरूसँग संवाद थाल्न सुझाव दिएका छन्।
सामाजिक सञ्जालमा लेख्दै खड्काले थापालाई उक्त सुझाव दिएका हुन्। उनले असोज ३ गतेदेखि सुरु हुने भनिएको १५औँ महाधिवेशनको कार्यतालिका स्थगित गरी पार्टी एकताका लागि पहल गर्न थापालाई आग्रह गरे। उनले पार्टीको सम्पूर्ण एकता अझै सम्भव रहेको भन्दै थापाले नै अग्रसरता लिएर देउवा र अन्य अग्रज नेतासँग वार्ता–संवाद अघि बढाउनुपर्ने भनाइ राखे।
‘असोज ३ गतेदेखि प्रारम्भ गर्ने गरी घोषणा गरिएको १५औँ अधिवेशनको कार्यतालिका स्थगित गरी केही समयका लागि सार्नुस्,’ खड्काले भनेका छन्, ‘पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति आदरणीय शीर्षनेता शेरबहादुर देउवाजी अनि अग्रज नेताहरूसँग आफ्नै अग्रसरतामा वार्ता–संवाद तत्काल प्रारम्भ गर्नुस्। मलाई आत्मविश्वास छ, पार्टीको सम्पूर्ण एकता अझै सम्भव छ।’
उनले आफूहरूबीच वैशाख २१ गते भएको संवादपछि नै थापाले निर्णय गरेको भए जेठको पहिलो साताभित्र सिंगो कांग्रेसलाई एकताबद्ध बनाउन सकिने अवस्था बन्ने दाबी गर्दै गम्भीर आत्मसमीक्षा गर्न आग्रह समेत गरे।
उनले थापालाई कानुन, अदालतको निर्णय वा पार्टी विधानका कारण एकताको पहल गर्न समस्या नपर्ने भन्दै तत्काल निर्णायक कदम चाल्न आग्रह गरेका छन्। ‘तत्काल निर्णायक र साहसिक कदम चाल्नुस् अनि सम्पूर्ण एकताको सिंगो कांग्रेसको सभापति बन्नुस्,’ खड्काले भनेका छन्।
प्रकाशित मिति: २ आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया