काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ४१० पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै ६ हजार १४५ जना बेपत्ता छन् ।
प्राधिकरणका अनुसार मृतकमध्ये ३३६ महिला र ५४९ पुरुष छन् भने ५२५ मानव अवशेष फेला परेका छन् । बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ७५६ जनाको उद्धार गरिएको छ ।
उद्धार गरिएकामध्ये ३४४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने २९० जना उपचारपछि घर फर्किएका छन् । सुरक्षा निकायले हालसम्म ९ हजार ८२० जनालाई प्रत्यक्ष उपचार सेवा उपलब्ध गराएको जनाएको छ ।
मृतक तथा बेपत्ताको पहिचानका लागि डिएनए नमुना संकलन तीव्र पारिएको छ । हालसम्म १ हजार २८६ मृतक तथा आफन्तका १ हजार ९४४ डिएनए नमुना संकलन गरिएको छ । आफन्तले जिल्ला प्रहरी कार्यालयमा दुईप्रति फोटो र नाता प्रमाणित कागजातसहित नमुना दिन सक्ने व्यवस्था गरिएको छ ।
उद्धार गरिएका नागरिकको अस्थायी व्यवस्थापनका लागि २७ वटा होल्डिङ सेन्टर सञ्चालनमा छन् । नुवाकोटमा ८३२, रसुवामा ८१७ र धादिङमा ९४ जना हाल ती केन्द्रमा बसिरहेका छन् ।
उद्धार तथा राहतका लागि नेपाली सेना र नेपाल प्रहरीका हेलिकप्टरबाट १ हजार ६३४ तथा सशस्त्र प्रहरी बलका हेलिकप्टरबाट ३२० उडान भइसकेका छन् । सडक सम्पर्क सहज बनाउन नुवाकोटको देवीघाटमा एक्रो पुल जडान गरी सञ्चालनमा ल्याइएको छ ।
प्रभावित क्षेत्रमा खाद्यान्न तथा गैरखाद्य सामग्री पठाउने क्रम जारी छ । आपूर्ति सहज बनाउन ६० हजार लिटर डिजेल, १२ हजार लिटर पेट्रोल, ४ हजार लिटर हवाई इन्धन र ५०२ ग्यास सिलिन्डर उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ ।
सरकारले होल्डिङ सेन्टरमा बस्न नचाहने प्रभावित परिवारलाई अधिकतम ६ महिनासम्म आवास तथा जीविकोपार्जनका लागि नगद सहयोग गर्ने भएको छ । प्रतिपरिवार मासिक १५ हजार रुपैयाँ तथा चार जनाभन्दा बढी सदस्य भए थप प्रत्येक सदस्यका लागि मासिक २ हजार रुपैयाँ उपलब्ध गराइनेछ ।
प्रकाशित मिति: २ आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया