काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि राजदूत नियुक्त गर्न विभिन्न व्यक्तिको नाम सिफारिस गरेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका, अध्ययन तथा अनुसन्धानमा संलग्न रहेका तथा नेतृत्वदायी भूमिकामा काम गरिसकेका व्यक्तिहरूलाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो ।

परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार विभिन्न क्षेत्रका योग्य र अनुभवी व्यक्तिहरूलाई राजदूतका लागि सिफारिस गरिएको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजङ्ग थापाको नाम सिफारिस गरिएको छ ।

त्यस्तै, संयुक्त अधिराज्य (बेलायत) का लागि अवकाशप्राप्त पूर्वप्रधानसेनापति गौरव शम्शेर जङ्गबहादुर राणा, जापानका लागि जिग्यान कुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचन सिफारिस भएका छन् ।

जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलङ्काका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारको नाम पनि राजदूतका लागि सिफारिस गरिएको छ ।

सरकारले अब सिफारिस गरिएका व्यक्तिहरूको नाम संसदीय सुनुवाइका लागि सङ्घीय संसद्मा पठाउनेछ । संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सम्बन्धित मुलुकमा सहमति (एग्रिमो) का लागि नाम पठाइनेछ ।

सम्बन्धित मुलुकबाट एग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले औपचारिक रूपमा राजदूत नियुक्त गर्ने संवैधानिक तथा कानुनी प्रक्रिया रहेको छ ।

प्रकाशित मिति: २ आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com