काठमाडौं । काठमाडौँ विश्वविद्यालय (केयु) प्रशासनले खारेज गरेको कम्पार्टमेन्ट (मौका) परीक्षा को पुनरवाहलीको माग राख्दै विद्यार्थीहरूले विश्वविद्यालय परिसरमा प्रदर्शन गरेका छन्।

वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, नेपाल (काठमाडौँ विश्वविद्यालय समिति) को नेतृत्वमा १०० भन्दा बढी विद्यार्थीहरूले विश्वविद्यालयको प्रशासनिक भवन अगाडि नारा जुलुससहित केन्द्रीय विश्व विद्यालय परिसर परिक्रमा गर्दै नाराजुलुससहित प्रदर्शन गरेका हुन् ।

संगठनले गत भदौ २४ गते मौका परिक्षा पुनरवाहलीको मागसहित विश्वविद्यालय प्रशासनलाई ७ दिने अल्टिमेटम बुझाएको थियो। तर, उक्त अल्टिमेटम र विद्यार्थीको न्यायोचित मागलाई विश्वविद्यालय प्रशासनले बेवास्ता गर्दै वार्ता र आन्तरिक पहलमा कुनै चासो नदेखाएपछि बाध्य भएर सङ्घर्षको मैदानमा उत्रिनुपरेको आन्दोलनरत विद्यार्थीहरूले बताएका छन्।

विश्वविद्यालयले यसअघि ड्रप आउट प्रणाली खारेज गर्ने क्रममा कम्पार्टमेन्ट परीक्षा पनि हटाएको थियो। कम्पार्टमेन्ट परीक्षा नहुँदा ब्याक परीक्षा र नियमित परीक्षा एकै दिन र एउटै समयमा पर्ने गरेको छ। यसले गर्दा विद्यार्थीहरू एकैपटक दुईवटा परीक्षा दिन असम्भव भई परीक्षाबाट वञ्चित हुनुपर्ने र समयमै दीक्षित हुन नसक्ने गम्भीर समस्या सिर्जना भएको संगठनको भनाइ छ। छोटो समयावधिमा अत्यधिक परीक्षा दिनुपर्दा सिकाइको गुणस्तर खस्किएको र विद्यार्थीको मानसिक स्वास्थ्यमा समेत गम्भीर असर परेको गुनासो विद्यार्थीहरूको छ। विश्वविद्यालयले एकातिर निरन्तर मुल्यांकन प्रणालीको ररटान लगाउने र अर्कोतर्फ बिभिन्न कारणले परिक्षा उत्तीर्ण गर्न असफल भएका विद्यार्थीहरूलाई मौका परिक्षा दिन नपाउने गरी दण्डात्मक उपाय चाल्नु आफैमा बिरोधाभासपुर्ण रहेको संगठनको ठहर छ ।

विद्यार्थीहरूले आफ्ना समस्या लिएर जाँदा प्रशासनले गैरजिम्मेवारपूर्ण ढङ्गले अपमानजनक टिप्पणी गर्दै फर्काएको आरोपसमेत संगठनले लगाएको छ। शिक्षाको गुणस्तरलाई भन्दा आर्थिक स्वार्थलाई केन्द्रमा राखेर परीक्षा प्रणालीलाई दण्डात्मक रूपमा उपयोग गरिएको संगठनले आरोप लगाएको छ ।

अविलम्ब वार्तामार्फत खारेज गरिएको कम्पार्टमेन्ट परीक्षा तत्काल पुनःबहाली गर्न विद्यार्थीहरूले माग गरेका छन्। ७ दिने अल्टिमेटमको समयसीमा सकिँदासम्म पनि माग सम्बोधन नभएको अवस्थामा अब पनि बेवास्ता गरिए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी संगठनले दिएको छ।

प्रकाशित मिति: ३ आश्विन २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com