काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सभापति गगन थापाको नेतृत्वमा भइरहेको पार्टीको महाधिवेशनमा आफू सहभागी नहुने बताएका छन्।

सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा आफ्नो भूमिकालाई लिएर भइरहेका टिप्पणीको खण्डन गर्दै खड्काले महाधिवेशनमा सहभागी नहुनुको कारणसमेत सार्वजनिक गरेका हुन्।

उनले विशेष महाधिवेशनबाट निर्वाचित सभापति तथा कार्यसमितिको वैधानिकतामाथि आफूहरूले सर्वोच्च अदालतमा प्रश्न उठाउँदै आएको स्मरण गराएका छन्।

खड्काका अनुसार विशेष महाधिवेशन र त्यसबाट निर्वाचित नेतृत्व पार्टीको विधान, राजनीतिक दलसम्बन्धी ऐन तथा सर्वोच्च अदालतले विगतमा प्रतिपादन गरेका नजिरविपरीत रहेको उनीहरूको दाबी छ।

‘विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति तथा कार्यसमिति पार्टीको विधान, राजनीतिक दलसम्बन्धी ऐन र सर्वोच्च अदालतले विगतमा प्रतिपादन गरेका नजिरविपरीत रहेको हाम्रो दाबी छ,’ उनले लेखेका छन्, ‘यस्तो अवस्थामा सभापति गगन थापाको हस्ताक्षरको टिकटबाट चुनाव लड्नु र अहिलेको महाधिवेशनमा सहभागी हुनु मेरो नैतिक मूल्य र मान्यताविपरीतको काम हो।’

गत प्रतिनिधिसभा निर्वाचनमा समेत यही कारण आफू उम्मेदवार नबनेको उल्लेख गर्दै खड्काले अहिले पनि त्यस्तै परिस्थिति रहेकाले महाधिवेशन प्रक्रियाबाट अलग रहने निर्णय गरेको बताएका छन्।

सर्वोच्च अदालतको डिभिजन बेन्चको निर्णयविरुद्ध आफूहरू पुनरावलोकनमा गएको र पूर्ण इजलासले मुद्दाको गम्भीरता बुझेर पुनरावलोकनको निस्सा दिएको उनको भनाइ छ। तर, महाधिवेशन रोक्न आवश्यक नदेखिएको पछिल्लो आदेशले आफूलाई दुःखी बनाएको उनले बताएका छन्।

‘सर्वोच्चबाट पुनरावलोकनको निस्सा दिइएको अवस्थामा पनि महाधिवेशन रोक्न आवश्यक नदेखिनुले नेपाली कांग्रेस दुईवटा महाधिवेशन हुने र विभाजनको डिलमा पुग्ने स्थिति सिर्जना भएको छ,’ खड्काले लेखेका छन्।

उनले वर्तमान राजनीतिक परिस्थितिमा लोकतन्त्रको लामो इतिहास बोकेको कांग्रेस विभाजित हुँदा त्यसको असर मुलुकको लोकतान्त्रिक व्यवस्थामा समेत पर्ने चिन्ता व्यक्त गरेका छन्।

‘यदि कुनै चमत्कार भएन भने पार्टी विभाजन निश्चित छ, तैपनि हामी त्यसलाई रोक्न अन्तिम प्रयास गरिरहेका छौँ,’ उनले भनेका छन्।

खड्काले सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा न्यायाधीशहरूसमक्ष पार्टीको वैधानिकतासँग सम्बन्धित पुनरावलोकनको मुद्दालाई प्राथमिकताका साथ हेर्न आग्रह गरेका छन्।

उनले परिस्थितिको गम्भीरतालाई ध्यानमा राख्दै उक्त मुद्दामा यथाशीघ्र अन्तिम फैसला गर्नसमेत अपिल गरेका छन्।

हालको अवस्थामा कांग्रेसको महाधिवेशन प्रक्रियामा सहभागी हुनुलाई आफूले ‘चरम अनैतिक कार्य’ ठानेको उल्लेख गर्दै खड्काले आफू उक्त प्रक्रियाबाट पूर्ण रूपमा अलग रहेको पुनः स्पष्ट पारेका छन्।

प्रकाशित मिति: ४ आश्विन २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com