काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउने प्रयासप्रति असन्तुष्टि जनाएकी छन्।

निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका विषयमा १५ सदस्यीय कार्यदलले प्रतिवेदन तयार गरिरहेको समयमा एमालेभित्र नेतृत्व परिवर्तनको विषयमा विवाद चर्किएको छ। यही सन्दर्भमा झाँक्रीले ओलीलाई हटाउनेभन्दा पार्टीभित्रको संकट समाधानमा ध्यान दिनुपर्ने आशय व्यक्त गरेकी हुन्।

कार्यदलका सदस्यसचिव तथा पार्टी महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनको प्रतिवादमा कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’ले अर्को प्रतिवेदन तयार पारेपछि विवाद थप जटिल बनेको छ।

त्यसपछि अध्यक्ष ओलीले कार्यदलमा नरहेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीलाई समेत प्रतिवेदन तयार गर्न लगाएपछि एमालेभित्र प्रतिवेदनकै विषयमा थप मतभेद देखिएको छ।

आइतबार बस्ने सचिवालय बैठकमा कार्यदलको प्रतिवेदन पेस गर्ने तयारी रहे पनि कुन प्रतिवेदन बैठकमा पेस हुने भन्ने विषयमा अन्योल रहेको जनाइएको छ।

यही पृष्ठभूमिमा झाँक्रीले सामाजिक सञ्जालमार्फत ओलीलाई हटाउने प्रयासप्रति असन्तुष्टि जनाएकी हुन्। उनले अहिलेको परिस्थितिमा कमजोर अवस्थामा रहेका ओलीमाथि थप प्रहार गर्नु उपयुक्त नहुने संकेत गरेकी छन्।

झाँक्रीले लेखेकी छन्, ‘लडाइँ र प्रतिस्पर्धा बलियो र सक्षमसँग गर्नुपर्छ। तर जब समयले हामी सबैलाई एउटै बाढीमा हुत्याएर एउटै किनारमा पछारिदिन्छ, त्यतिबेला पुरानो रिस, प्रतिस्पर्धा र अहंकारको कुनै अर्थ रहँदैन।’

उनले संकटको अवस्थामा सबैको अवस्था समान हुने उल्लेख गर्दै अगाडि लेखेकी छन्, ‘त्यो बेला हामी सबैको अवस्था उस्तै हुन्छ– कोही हिलोमा गाडिएको, कोही भग्नावशेषमुनि पुरिएको, कोही एक्लै उठ्न खोजिरहेको त कोही अरूको हात समातेर आफू पनि उठ्न खोजिरहेको।’

ओलीको खुट्टा तान्ने प्रयासले आफूहरू पनि संकटमा पर्ने उनको भनाइ छ।

‘त्यस्तो बेला कसैको खुट्टा तान्नु भनेको आफू पनि डुबिरहेको खाल्डो अझ गहिरो बनाउनु हो। कसैलाई ढुंगा हान्नु भनेको आफू उभिएको किनार पनि भत्काउनु हो। बेसहारा हुनु हो,’ झाँक्रीले भनेकी छन्।

प्रकाशित मिति: ४ आश्विन २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com