काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा गोली प्रहारबाट घाइते भएका १९ वर्षीय नीरजकुमार यादवको शरीरबाट गोली निकालिएको छ।
शनिबार साँझ गोली लागेर घाइते भएका यादवको विराटनगरस्थित नोबेल अस्पतालमा शल्यक्रिया गरी चिकित्सकहरूले शरीरबाट एउटा गोली निकालेका हुन्। यादवको दायाँ खुट्टाको माथिल्लो भागमा गोली लागेको थियो।
यादव देवानगञ्ज गाउँपालिका–१, कप्तानगञ्जका स्थानीय हुन्।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा देवानगञ्ज–२ का स्थानीय जयकिशोर यादव ‘लाली’ र विष्णुकुमार यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार घटनामा संलग्न रहेको आशंका गरिएका अन्य चार जना फरार छन्। उनीहरूको पहिचान खुलिसकेको र खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार युवतीसँग सम्बन्धित विवादका क्रममा यादवमाथि गोली प्रहार भएको देखिएको छ। घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए।
‘फरार आरोपीहरूको पनि पहिचान खुलेको छ। उनीहरूलाई नियन्त्रणमा लिएपछि घटनाबारे यकिन विवरण थाहा हुन्छ,’ उनले भने।
प्रहरीका अनुसार गोली प्रहार गर्ने समूह र घाइते यादव पूर्वपरिचित हुन्।
यादवको शरीरबाट निकालिएको गोली परीक्षणका लागि पठाइने र त्यसबाट कुन हतियार प्रयोग भएको थियो भन्ने यकिन गरिने डीएसपी खड्काले जानकारी दिए।
प्रकाशित मिति: ४ आश्विन २०८३, आइतबार












प्रतिक्रिया