काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले नेताहरूले तयार पारेका तीनवटा छुट्टाछुट्टै प्रतिवेदनलाई समेटेर साझा प्रतिवेदन तयार गर्ने भएको छ।
कार्यदलको आइतबार बसेको बैठकले रामबहादुर थापा ‘बादल’, महासचिव शंकर पोखरेल र नेता प्रदीप ज्ञवालीले तयार पारेका प्रतिवेदनका विषयवस्तुलाई समेटेर एउटै साझा दस्ताबेज तयार गरी पार्टी सचिवालयमा बुझाउने निर्णय गरेको हो।
कार्यदल सचिव पद्मा अर्यालका अनुसार साझा प्रतिवेदनमा नेतृत्व पुनर्गठनको विषय भने समावेश गरिने छैन। नेतृत्वसम्बन्धी विषयमा आवश्यक निर्णय पार्टी सचिवालयले गर्नेछ।
‘अहिले कार्यदलले नेतृत्व पुनर्गठनसँग जोडिएको चिज पेस गर्दैन,’ अर्यालले भनिन्, ‘कार्यदल संयोजकले पेस गरेको प्रतिवेदन मस्यौदालाई हामीले केही परिमार्जन गरेर साझा दस्ताबेजका रूपमा प्रतिवेदन बनाएर पार्टीलाई बुझाउँदैछौँ।’
यसअघि तयार भएका तीनवटा प्रतिवेदनमा निर्वाचन परिणामको समीक्षा तथा पार्टी पुनर्गठनका विषय समेटिएका थिए। चुनावी परिणामपछि पार्टी नेतृत्वले मार्ग प्रशस्त गर्ने कि नगर्ने भन्ने विषय एमालेभित्र विवादको मुख्य मुद्दा बनेको थियो।
यस्तै, सञ्चारकर्मीमाझ सचिव महेश बस्नेतले ओलीको राजीनामा नमाग्ने र आलोचना नगर्ने सहमति जुटेको सचिव महेश बस्नेतले दाबी गरे । कार्यदलले राष्ट्रिय परिषद्को बैठक बोलाउने निर्णयसमेत गरेको सचिव बस्नेतले जानकारी दिए।
एमाले केन्द्रीय सचिवालयको बैठक आइतबार दिउँसो ३ बजेपछि बस्दैछ। सचिवालय बैठकले सोमबारदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने जनाइएको छ।
प्रकाशित मिति: ४ आश्विन २०८३, आइतबार












प्रतिक्रिया