काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सञ्चारकर्मीलाई पत्रकारिताको मर्यादा र अभ्यास पालना गर्दै प्रश्न गर्न सुझाव दिएका छन्।
आइतबार एमाले केन्द्रीय कार्यालय च्यासलमा निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रश्न सोध्नुअघि सम्बन्धित व्यक्तिको अनुमति लिनुपर्ने बताएका हुन्।
उनले प्रश्न सोधेपछि त्यसलाई प्रकाशित वा प्रसारण गर्नुअघि पनि सम्बन्धित व्यक्तिलाई जानकारी गराउने अन्तर्राष्ट्रिय अभ्यास रहेको दाबी गरे।
‘दुनियाँभरि पत्रकारिताको के नियम हुन्छ भने तपाईंसँग प्रश्न सोध्न सकिन्छ भनेर अगाडि सोधिन्छ। प्रश्न सोधेपछि त्यसलाई प्रकाशित गर्नुभन्दा अगाडि तपाईंले भन्नुभएको कुरा हामी प्रकाशित गर्दैछौँ, गरौँ ? भनेर सोध्छ,’ ओलीले भने।
सञ्चारकर्मीले अनुमति नलिई माइक अगाडि ल्याएर प्रश्न गर्ने शैलीप्रति असन्तुष्टि जनाउँदै उनले त्यस्तो नगर्न आग्रह गरे।
‘तपाईंहरू ल्याएर थुतुनो घोचेर, मुखमा घोचेर, त्यस्तो नगर्नुहोस्,’ ओलीले भने।
ओलीले आफूहरूको अनुमति नलिई माइक अगाडि ल्याएर प्रश्न गर्नु उपयुक्त नभएको समेत बताएका छन्।
प्रकाशित मिति: ४ आश्विन २०८३, आइतबार












प्रतिक्रिया