काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतका कामलाई तीव्रता दिन सरकारसँग आग्रह गरेको छ ।
आइतबार काठमाडौँको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले बाढी प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनःस्थापनाका लागि आवश्यक सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
बैठकपछि निर्णय सार्वजनिक गर्दै रास्वपाका प्रवक्ता जगदीश खरेलले बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनाका काममा कुनै किसिमको ढिलाइ वा कमजोरी हुन नदिन सरकारसँग आग्रह गरिएको बताए ।
उनका अनुसार पीडित परिवारलाई राहत वितरणको काम यथाशीघ्र अघि बढाउनुपर्ने तथा बाढीमा ज्यान गुमाएकाहरूको पहिचानका लागि डीएनए परीक्षण प्रक्रिया पनि छिटो सम्पन्न गर्नुपर्नेमा बैठकले जोड दिएको छ ।
‘पीडित परिवारलाई राहत वितरण छिटोभन्दा छिटो हुनुपर्यो । मृतकको डीएनए पहिचान प्रक्रिया पनि चाँडो गर्नुपर्यो,’ खरेलले भने, ‘पाँच हजारभन्दा बढी व्यक्ति बेपत्ता छन् । मृत्यु भएको पुष्टि भए कानुनी प्रक्रिया अघि बढाउन आवश्यक सहजीकरण गर्न सरकारसँग आग्रह गरिएको छ ।’
रास्वपाले बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, मृतकको पहिचान, राहत वितरण तथा पुनःस्थापनाका कामलाई प्रभावकारी र समन्वयात्मक ढंगले अघि बढाउनुपर्नेमा जोड दिएको छ ।
प्रकाशित मिति: ४ आश्विन २०८३, आइतबार











प्रतिक्रिया