काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय वित्तमन्त्री निर्मला सीतारमणबीचको भेटमा नेपाली राष्ट्रिय झन्डा नदेखिएको विषयमा स्पष्टीकरण दिएका छन् ।
आइतबार असोज ४ गते काठमाडौँको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको रास्वपा सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै खरेलले उक्त भेट भारतीय वित्तमन्त्री सीतारमणको कार्यकक्षमा भएकाले सार्वजनिक भएको तस्बिरमा नेपाली झन्डा नदेखिएको बताएका हुन् ।
उनले सीतारमणको कार्यकक्षमा भएको भेटको तस्बिरलाई लिएर भ्रम सिर्जना भएको दाबी गरे । खरेलका अनुसार द्विपक्षीय भेटका क्रममा भने नेपाल र भारत दुवै देशका राष्ट्रिय झन्डा राखिएका थिए ।
‘हाम्रो सभापतिको कार्यकक्षमा पनि राष्ट्रिय झन्डा छ र अर्थमन्त्रीजीको कार्यकक्षमा पनि राष्ट्रिय झन्डा छ, त्यहाँ भारतीय झन्डा त हुने कुरा भएन,’ खरेलले भने ।
उनले भारतमा सार्वजनिक भएको तस्बिर सीतारमणकै कार्यकक्षमा भएको भेटको भएको स्पष्ट पार्दै भने, ‘त्यहाँ पनि जुन फोटो आइरहेको छ, त्यो उहाँ (निर्मला सीतारमण)को कार्यकक्षमा भएको भेट हो । दुईपक्षीय भेटमा नेपालको झन्डा पनि सँगै राखिएको छ ।’
प्रकाशित मिति: ४ आश्विन २०८३, आइतबार











प्रतिक्रिया