काठमाडौं । अमेरिकामा पेट्रोलियम पदार्थको मूल्यमा भएको तीव्र वृद्धिको असर उद्योग, कृषि तथा अन्य व्यवसायमा देखिन थालेको छ।
अमेरिकी समाचार संस्था सीएनएनका अनुसार इन्धनको बढ्दो लागतसँगै ढुवानीमा देखिएको अवरोध, कन्टेनरको अभाव, लाल सागर क्षेत्रमा उत्पन्न परिस्थितिका कारण बढेको खर्च तथा रासायनिक मलको मूल्यवृद्धिले अमेरिकी व्यवसायी र किसानमाथि थप दबाब परेको छ।
सीएनएनले ‘इन्स्टिच्युट फर सप्लाई म्यानेजमेन्ट’को मासिक सर्वेक्षणलाई उद्धृत गर्दै धेरै व्यवसायी तथा अधिकारीहरूले अहिलेको अवस्थालाई कोरोना महामारीको समयसँग तुलना गरेको जनाएको छ।
सर्वेक्षणमा सहभागी केही व्यवसायीले अहिलेको अवस्था महामारीकालभन्दा पनि चुनौतीपूर्ण रहेको बताएका छन्। उनीहरूका अनुसार बढ्दो इन्धन तथा आपूर्ति लागतले उत्पादनदेखि ढुवानीसम्मका क्षेत्रमा असर पुर्याइरहेको छ।
सीएनएनले एक कफी व्यवसायीलाई उद्धृत गर्दै आपूर्ति व्यवस्थामा देखिएका अवरोध र बढ्दो लागतले व्यवसाय सञ्चालन थप कठिन बनेको जनाएको छ। अमेरिकाका विभिन्न उद्योगमा आबद्ध व्यवसायीहरूले यस्तै चुनौती सामना गरिरहेको रिपोर्टमा उल्लेख छ।
प्रकाशित मिति: ५ आश्विन २०८३, सोमबार












प्रतिक्रिया