काठमाडौं । सरकारले विद्युत् महसुलमा लगाउँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने तयारी गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच विद्युत्मा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भएको हो।
ऊर्जा मन्त्रालय स्रोतका अनुसार आइतबार साँझ भएको छलफलमा भ्याट हटाउने सहमति जुटेको हो। अब मन्त्रिपरिषद्बाट औपचारिक निर्णय भएपछि कार्यान्वयनको प्रक्रिया अघि बढ्नेछ।
चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले घरायसी ग्राहकले मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्दा ५ प्रतिशत तथा औद्योगिक र अन्य गैरघरायसी ग्राहकलाई १३ प्रतिशत भ्याट लगाउने व्यवस्था गरेको थियो।
विद्युत्मा भ्याट लगाउँदा घरायसी उपभोक्ता, उद्योग तथा व्यवसायको लागत बढ्ने भन्दै यसको विरोध हुँदै आएको थियो। उद्योगीहरूले विद्युत्को लागत बढ्दा उत्पादन खर्चसमेत बढ्ने र त्यसको प्रभाव वस्तु तथा सेवाको मूल्यमा पर्ने बताउँदै आएका थिए।
मन्त्रालय स्रोतका अनुसार भ्याट हटाउने निर्णय कार्यान्वयन भएपछि साउनदेखि विद्युत् महसुलमा उठाइएको भ्याटको हिसाब मिलाइनेछ। यसअघि उठाइएको रकम आगामी विद्युत् बिलमा समायोजन गर्ने तयारी रहेको स्रोतले जनाएको छ।
प्रकाशित मिति: ५ आश्विन २०८३, सोमबार












प्रतिक्रिया