सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले नियुक्त भएको झन्डै दुई महिनापछि आफ्नो सचिवालय गठन गरेका छन् ।
नेकपा एमालेको समर्थनमा गत साउन १२ गते मुख्यमन्त्री नियुक्त भएका शाहीले हालसम्म सचिवालयमा पाँच जनालाई नियुक्त गरेका हुन् । नियुक्त पाँचमध्ये चार जना मुख्यमन्त्रीको गृहजिल्ला मुगुका छन् ।
‘कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन’अनुसार मुख्यमन्त्रीले आठ जनासम्म कर्मचारी सचिवालयमा राख्न पाउने व्यवस्था छ । जसअनुसार एक प्रमुख स्वकीय सचिव, दुई स्वकीय सचिव, एक सूचना/प्रविधि कर्मचारी, दुई हलुका सवारी चालक र दुई कार्यालय सहयोगी राख्न सकिन्छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार नरेश शाही (राकेश)लाई प्रमुख स्वकीय सचिव नियुक्त गरिएको छ ।
मंगलबहादुर शाही प्रदेशसभा सदस्य रहँदा पनि नरेश उनका स्वकीय सचिव थिए । यसअघि शाही भौतिकमन्त्री हुँदा पनि नरेशले स्वकीय सचिवकै जिम्मेवारी सम्हालेका थिए । मुख्यमन्त्री नियुक्त भएपछि पनि उनी शाहीसँगै रहँदै आएका थिए ।
मुगुको सोरु गाउँपालिका–१ का नरेश तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका होलटाइमर लडाकु हुन् । २०५८ सालमा युद्धकालीन राजनीतिमा होलटाइमर बनेका उनले जुम्लादेखि कपिलवस्तुसम्मका विभिन्न लडाइँमा सहभागी भएको बताइएको छ ।
जनमुक्ति सेनामा कम्पनी कमान्डरसम्मको जिम्मेवारी सम्हालेका नरेश द्वन्द्वका क्रममा घाइते तथा अपाङ्ग भएका व्यक्ति हुन् । कक्षा १२ सम्म अध्ययन गरेका उनी हाल नेपाली कम्युनिस्ट पार्टीको प्रदेश कमिटी सचिवालय सदस्य छन् ।
त्यस्तै, सन्तोष मल्ललाई स्वकीय सचिव नियुक्त गरिएको छ । मुगुको छायानाथ रारा नगरपालिका–१ का मल्ल नेकपाको प्रदेश कमिटीका वैकल्पिक सदस्य हुन् । उनी यसअघि गैरसरकारी संस्थामा कार्यरत थिए ।
सूचना तथा प्रविधितर्फ गणेशकञ्चन भारती नियुक्त भएका छन् । सुर्खेत निवासी भारती माओवादी निकट प्रेस सेन्टरका नेता हुन् । द्वन्द्वकालमै ‘जनादेश’ पत्रिकामा काम गरेका उनी नेपाल पत्रकार महासंघ सुर्खेतका पूर्वअध्यक्षसमेत हुन् ।
भारतीले सुर्खेतमा छापा तथा रेडियो सञ्चारमाध्यम सञ्चालन गर्दै आएका छन् । उनी रेस्टुरेन्ट व्यवसायमा समेत संलग्न छन् ।
कार्यालय सहयोगीमा मुगुको सोरुका जस विष्ट नियुक्त भएका छन् भने हलुका सवारी चालकमा मुगुको छायानाथ रारा नगरपालिका–१४ का मेलबहादुर भण्डारी नियुक्त भएका छन् ।
मुख्यमन्त्री शाहीले आवश्यकता अनुसार विज्ञ सल्लाहकारसमेत नियुक्त गर्न सक्नेछन् । यसअघिका मुख्यमन्त्री यामलाल कँडेलले विज्ञ सल्लाहकार नियुक्त नगरेकाले चालू आर्थिक वर्षमा त्यसका लागि छुट्टै बजेट विनियोजन गरिएको छैन ।
स्रोतका अनुसार मुख्यमन्त्री शाहीले विज्ञ सल्लाहकार नियुक्त गर्ने वा नगर्ने विषयमा हालसम्म कुनै योजना बनाएका छैनन् ।
मुख्यमन्त्री शाहीका निजी सचिवका रूपमा भने मुकुन्द्र शर्मा कार्यरत छन् ।
प्रकाशित मिति: ५ आश्विन २०८३, सोमबार












प्रतिक्रिया