काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।
सोमबार साँझ जारी मनसुन विशेष मौसम बुलेटिनमा विभागले उक्त अवधिमा वर्षाको गतिविधि बढ्ने भएकाले जनजीवन प्रभावित हुन सक्ने जनाएको हो ।
विभागका अनुसार उत्तर अण्डमान सागर तथा आसपास विकसित न्यूनचापीय क्षेत्र अहिले बंगालको खाडीको मध्य भू–भागमा पुगेको छ । उक्त प्रणाली थप शक्तिशाली बन्दै ‘डिप डिप्रेसन’ अर्थात् बलियो न्यूनचापीय प्रणालीमा परिणत भएको छ ।
यो प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने अनुमान गरिएको छ । यसको प्रभावस्वरूप बुधबारदेखि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने विभागले जनाएको छ ।
असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ । ती प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने विभागले जनाएको छ ।
त्यसैगरी मधेस, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो र गेग्रान बहावका साथै सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
मौसम विभागको विशेष बुलेटिनपछि प्राधिकरणले सोमबार नै सूचना जारी गर्दै सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्वतयारी तथा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्राधिकरणले अत्यावश्यक कामबाहेक टाढाको यात्रा तथा रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
सम्बन्धित संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकलाई सम्भावित विपद्को जोखिमबारे सर्वसाधारणलाई सूचित गर्न र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन पनि प्राधिकरणले आग्रह गरेको छ ।
सम्भावित पहिरो तथा बाढीका कारण अवरुद्ध हुन सक्ने राजमार्ग र सडकमा डोजर, एक्साभेटर, लोडरलगायत आवश्यक उपकरण तयारी अवस्थामा राख्न भनिएको छ ।
जिल्ला सुरक्षा समिति, स्थानीय तह र सुरक्षा निकायलाई पूर्वसूचनाका आधारमा जोखिमयुक्त क्षेत्रमा रहेका व्यक्ति तथा परिवारलाई विपद् आउनुअघि नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न प्राधिकरणले आग्रह गरेको छ ।
आकस्मिक बाढी आउन सक्ने खोला तथा खहरे आसपासका बस्ती र पहिरोको जोखिममा रहेका क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन भनिएको छ ।
वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११४९, विपद्का बेला सहयोग आवश्यक परे १२३४, नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरी बलको १११४ मा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ ।
भारी वर्षाका कारण ठूला तथा साना नदी–नालामा पानीको सतह बढ्न सक्ने विभागले जनाएको छ । वर्षाले दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, निर्माण क्षेत्र तथा सडक र हवाई यातायातमा समेत असर पार्न सक्ने विभागको आकलन छ ।
हाल कतिपय स्थानमा धानबाली भित्र्याउने समय रहेकाले किसानलाई कृषि विज्ञको सल्लाहअनुसार मात्र काम गर्न विभागले अनुरोध गरेको छ ।
मौसमी प्रणालीको प्रभावले हिमाली क्षेत्रमा भारी हिमपातसमेत हुन सक्ने भएकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति: ५ आश्विन २०८३, सोमबार












प्रतिक्रिया