काठमाडौं । राजनीतिक विश्लेषक भरतमणि दाहालको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
दाहालकी छोरी डेनिकाले दायर गरेको रिटमाथि मंगलबार न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ भएको थियो । सुनुवाइपछि इजलासले दाहाललाई पक्राउ गर्नुको कारणसहित लिखित जवाफ पेस गर्न सम्बन्धित पक्षका नाममा आदेश दिएको हो ।
दाहाललाई प्रहरीले आइतबार मोरङको बेलबारीबाट पक्राउ गरेको थियो । प्रहरीले उनको युट्युब च्यानलमार्फत भूराजनीति तथा उच्च राजनीतिक व्यक्तिहरूबारे भ्रामक प्रचार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउपछि दाहाललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी छोरी डेनिकाले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन् ।
सर्वोच्चको आदेशपछि अब सरकार तथा सम्बन्धित निकायले दाहाललाई पक्राउ गर्नुको कारण र उनको हिरासतसम्बन्धी विवरण अदालतमा पेस गर्नुपर्नेछ ।
सम्बन्धित पक्षको लिखित जवाफ प्राप्त भएपछि रिटमा अर्को पेसी तोकिनेछ । त्यसपछि अदालतले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णय गर्नेछ ।
प्रकाशित मिति: ६ आश्विन २०८३, मंगलबार











प्रतिक्रिया