काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई फुटबलका महान् खेलाडी पेलेसँग तुलना गर्दै विगतमा दिएको अभिव्यक्ति औपचारिक रूपमा फिर्ता लिएका छन् ।
मंगलबार एमाले केन्द्रीय कमिटी बैठकस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले २०८२ भदौ २२ गतेसम्म सान्दर्भिक रहेको आफ्नो उक्त अभिव्यक्ति भदौ २३ गतेदेखि नै औचित्यहीन भएको बताए ।
उनले पार्टी केन्द्रीय कमिटी बैठकमै अध्यक्ष ओलीकै सामुन्ने आफूले पुरानो अभिव्यक्ति फिर्ता लिएको जानकारी गराएको बताए । आफू कसैको पेलानमा पर्ने नेता नभएको उनको भनाइ थियो ।
एमालेको ११औँ महाधिवेशनमा भएको आन्तरिक प्रतिस्पर्धाको प्रसंग उल्लेख गर्दै श्रेष्ठले ओलीसँग आफ्नो राजनीतिक सम्बन्धमा समेत परिवर्तन आएको बताए ।
‘एमालेको ११औँ महाधिवेशनमा मलाई हराउन ओलीजीले मेहनत गरेकै हो, मैले पनि उहाँलाई भोट नदिएकै हो,’ उनले भने, ‘व्यक्तिगत रूपमा अध्यक्षप्रति मेरो सम्मान यथावत् छ, तर राजनीतिक रूपमा पहिलेको अवस्था छैन।’
ओलीलाई पेलेसँग तुलना गर्नुको पृष्ठभूमिबारे श्रेष्ठले तत्कालीन राजनीतिक परिस्थितिको स्मरण गरे । संसद् विघटन र पुनर्स्थापनाको विवादका बेला पार्टीभित्रै ओलीले नेतृत्वबाट मार्गप्रशस्त गर्नुपर्ने आवाज उठेपछि आफूले त्यस्तो अभिव्यक्ति दिएको उनको भनाइ थियो ।
‘हिजो संसद् विघटन र पुनर्स्थापनाको परिस्थितिमा पार्टीकै नेताहरूले मार्गप्रशस्त गर्नुपर्छ, नत्र कठालो समातेर फालिन्छ भनेपछि मैले ओलीलाई फुटबलको पेले भनेको थिएँ,’ श्रेष्ठले भने, ‘२०७८ देखि २०८२ भदौ २२ सम्म त्यसको सान्दर्भिकता रह्यो । तर भदौ २३ देखि २४ हुँदै आजसम्म आइपुग्दा त्यसको औचित्य सकियो।’
श्रेष्ठले गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई प्रतिगमन नभई क्रान्तिको रूपमा व्याख्या गरे । आफ्नै नेतृत्वमा सरकार रहेका बेला यति ठूलो आन्दोलन हुँदा त्यसबारे समयमै सूचना नहुनु र तत्कालीन नेकपालाई जोगाउन नसक्नु पार्टी नेतृत्वको गम्भीर कमजोरी भएको उनको भनाइ थियो ।
उनले एमाले नेतृत्वलाई अहिलेको राजनीतिक तथा सामाजिक ‘ग्राउन्ड रियालिटी’ बुझेर आफूलाई सच्याउनसमेत आग्रह गरे ।
‘हामी सच्चिएनौँ भने हामीलाई सकिनबाट कसैले रोक्दैन,’ श्रेष्ठले भने, ‘लोकप्रिय र बलियो एमाले बनाउन कसले के त्याग गर्नुपर्छ, त्यो महसुस हुनुपर्छ । अध्यक्षकै प्रतिवेदनमा रियलाइजेसनको कुरा आएको छ, त्यो अब व्यवहारमा देखिनुपर्छ।’
श्रेष्ठले केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राखेर बाहिरिएको विषयलाई बैठक बहिष्कारका रूपमा नबुझ्न पनि आग्रह गरे । उनले आफूले बैठक बहिष्कार नगरेको स्पष्ट पारे ।
प्रकाशित मिति: ६ आश्विन २०८३, मंगलबार












प्रतिक्रिया