काठमाडौं । खाडी क्षेत्रमा बढ्दो तनावले होर्मुज जलडमरूमार्गबाट हुने व्यापार र ऊर्जा आपूर्तिमा अनिश्चितता बढिरहेका बेला भारतले वैकल्पिक मार्ग खोज्न थालेको छ । यसक्रममा ओमानको सोहर बन्दरगाह भारतका लागि सम्भावित वैकल्पिक ‘गेटवे’का रूपमा अघि आएको छ ।
होर्मुज जलडमरूमार्गको साँघुरो भागभन्दा बाहिर रहेको सोहरबाट समुद्री तथा स्थलमार्ग हुँदै खाडीका विभिन्न बजारसम्म सामान पुर्याउन सकिन्छ । होर्मुज क्षेत्रमा लामो समयसम्म आवागमन प्रभावित भए भारतले आफ्नो व्यापार तथा ऊर्जा आपूर्ति व्यवस्थालाई सोहरमार्फत सञ्चालन गर्ने विकल्प पाउनेछ ।
भारतको ऊर्जा आपूर्ति सहज हुनु नेपालको दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ । नेपालले पेट्रोलियम पदार्थ र ग्यास मुख्यतः भारतबाट आयात गर्दै आएको अवस्थामा भारतले वैकल्पिक आपूर्ति मार्ग सुरक्षित गर्न सके त्यसको अप्रत्यक्ष लाभ नेपाललाई समेत पुग्न सक्छ ।
मध्यपूर्वमा तनाव बढेपछि भारत र सोहरबीच ‘फिडर भेसल’ सेवा करिब चार गुणाले बढेको बताइएको छ । यसअघि ठूला पानीजहाजमार्फत सिधै खाडीका मुलुकमा पुग्ने केही कार्गो अहिले पहिले सोहर पुग्ने र त्यहाँबाट सडकमार्ग हुँदै गन्तव्यतर्फ पठाउने क्रम बढेको छ ।
सोहर बन्दरगाह तथा फ्रिजोनमा हालसम्म ३० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी भइसकेको छ । बन्दरगाहको वार्षिक कार्गो व्यवस्थापन क्षमता ७ करोड २० लाख टनभन्दा बढी रहेको छ । सन् २०२६ को पहिलो ६ महिनामा कन्टेनर आवागमन ४० प्रतिशतले बढेर ५ लाख ४५ हजार टीईयू पुगेको बताइएको छ ।
सोहर भारतका लागि मात्र नभई साउदी अरेबियाका लागि समेत वैकल्पिक व्यापारिक मार्गका रूपमा देखिन थालेको छ । क्षेत्रीय तनावका कारण साउदीको पूर्व–पश्चिम तेल पाइपलाइनमा जोखिम बढेपछि साउदीले सोहर आसपासबाट कच्चा तेल व्यवस्थापन गर्ने विकल्प प्रयोग गर्न थालेको जनाइएको छ ।
साउदीले सेप्टेम्बर र अक्टोबरमा करिब ६ करोड ब्यारेल कच्चा तेल ट्यांकरबाट ट्यांकरमा स्थानान्तरण गरी पठाउने योजना बनाएको छ । सोहरबाट स्थलमार्ग हुँदै साउदीसम्म सामान तथा ऊर्जा आपूर्ति विस्तार गर्ने तयारीसमेत भइरहेको छ ।
ओमान र साउदीका कम्पनीबीच ‘सिक्योर ग्रिन ल्यान्ड करिडोर’ सक्रिय बनाउने सम्झौता भएको छ । त्यस्तै, ओमान–युएई रेल सञ्जाल विस्तार भएपछि सोहरलाई खाडी क्षेत्रको ठूलो व्यापारिक तथा ढुवानी सञ्जालसँग जोड्ने सम्भावना अझ बढ्ने देखिएको छ ।
यसरी हेर्दा सोहर भारतका लागि एउटा बन्दरगाहको विकल्प मात्र नभई होर्मुजमा उत्पन्न हुन सक्ने आपूर्ति अवरोध सामना गर्ने सम्भावित वैकल्पिक मार्गका रूपमा विकसित हुँदै गएको छ । यसको दीर्घकालीन प्रभाव भने खाडी क्षेत्रको सुरक्षा अवस्था र नयाँ ढुवानी सञ्जालको विस्तारमा निर्भर हुनेछ ।
प्रकाशित मिति: ६ आश्विन २०८३, मंगलबार












प्रतिक्रिया