काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले जेनजी आन्दोलनका क्रममा भएका घटनाका दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन संसद्बाटै संकल्प प्रस्ताव पारित गर्न माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै खत्रीले जेनजी आन्दोलन सचेत युवाहरूको विद्रोह भएको भन्दै आन्दोलनका क्रममा ज्यान गुमाएका तथा प्रभावित परिवारलाई न्याय दिलाउन संसद्ले स्पष्ट निर्णय गर्नुपर्ने बताए ।
उनले जेनजी आन्दोलनका घटनाबारे संसद्बाट संकल्प प्रस्ताव ल्याएर पारित गर्नुपर्ने र दोषी देखिएका व्यक्तिलाई कानुनी कठघरामा उभ्याउनुपर्ने माग गरे ।
खत्रीले गत चैत १९ गते बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा रास्वपा सभापति रवि लामिछानेले ‘न्याय पाउने पहिलो हक सहिदकी आमाको हो’ भनेको स्मरण गराए । तर संसद्को ५८औँ बैठकसम्म आइपुग्दा सहिद परिवारले आफूहरू अपमानित भएको महसुस गर्दै न्यायका लागि आवाज उठाउनुपर्ने अवस्था आएको उनले बताए ।
‘गत चैत १९ गते बसेको पहिलो संसद् बैठकलाई सम्बोधन गर्दै हाम्रा सभापति रवि लामिछानेले भन्नुभएको थियो, न्याय पाउने पहिलो हक सहिदकी आमाको हो । तर ५८औँ बैठकमा आइपुग्दा आफ्नो अपमान गरियो भन्दै सहिदकी आमा रुने अवस्था बन्यो,’ उनले भने ।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरू भ्रष्टाचारविरोधी आवाजसहित आन्दोलनमा सहभागी भएको उल्लेख गर्दै खत्रीले उनीहरूको मृत्युको घटनाबारे न्यायिक छानबिन र दोषीमाथि कारबाही हुनुपर्ने बताए ।
‘छोराको झोलामा कापी र किताब थियो, मुखमा भ्रष्टाचारविरोधी नारा थियो, छाती र टाउकोमा गोली हानियो, खुँखार आतङ्कवादीसरह मारियो,’ उनले भने ।
सहिदको रगत र परिवारको आँसुको हिसाब हुने बताइए पनि अहिले सहिदका आमाहरूले आफ्ना छोराको बलिदानको न्याय माग्दै संसद्मै आवाज उठाउनुपर्ने अवस्था आएको खत्रीको भनाइ थियो ।
‘सहिदको रगत र आमाको आँसुको हिसाबकिताब हुन्छ भनियो । तर छोराको लासमाथि पद साटेको होइन भन्दै सदनमा चित्कार छोड्नुपर्ने दिन आयो,’ उनले भने ।
खत्रीले जेनजी आन्दोलनलाई संसद्ले कसरी परिभाषित गर्ने भन्ने विषयमा समेत स्पष्ट धारणा बनाउनुपर्ने बताए । आन्दोलन सचेत युवाहरूको विद्रोह भएको हो भने त्यसलाई संसद्बाटै स्वीकार गर्दै संकल्प प्रस्ताव पारित गर्नुपर्ने उनको माग थियो ।
‘जेनजी आन्दोलन सचेत युवाहरूको विद्रोह हो कि होइन ? हो भने यही सदनबाट संकल्प प्रस्ताव ल्याएर पास गरौँ,’ उनले भने ।
प्रकाशित मिति: ७ आश्विन २०८३, बुधबार












प्रतिक्रिया