काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा पछिल्ला वर्ष देखिएका विपद्ले जलवायु सङ्कटको जोखिम थप गम्भीर बन्दै गएको पुष्टि गरेको बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गुटेरेसले तापक्रम वृद्धिका कारण हिमाली क्षेत्र विशेष रूपमा प्रभावित भइरहेको उल्लेख गरे । हिमनदी पग्लिने क्रम तीव्र बन्दै गए विश्वले अझ ठूलो जलवायु संकट सामना गर्नुपर्ने उनको चेतावनी थियो ।
तीन वर्षअघि नेपाल भ्रमणका क्रममा आफूले हिमनदी तीव्र गतिमा पग्लिरहेको विषयमा विश्व समुदायलाई सचेत गराएको स्मरण गर्दै गुटेरेसले पछिल्ला विपद्ले त्यतिबेलाको चेतावनीलाई अझ स्पष्ट बनाएको बताए ।
‘तीन वर्षअघि नेपालको हिमालबाट मैले विश्वको छाना भत्किँदै गएको चेतावनी दिएको थिएँ,’ उनले भने, ‘पछिल्ला घटनाले जलवायु परिवर्तनका असर अनुमान गरिएभन्दा छिटो, गम्भीर र व्यापक रूपमा देखिन थालेको पुष्टि गरेको छ ।’
भोटेकोशी बाढीलगायत नेपालमा भएका विपद्लाई जलवायु परिवर्तनका प्रभावसँग जोड्दै उनले जलवायु सङ्कट अब भविष्यको सम्भावित समस्या नभई वर्तमानकै वास्तविकता बनिसकेको बताए । विश्वव्यापी कार्बन उत्सर्जनमा न्यून योगदान गर्ने मुलुकहरूले नै जलवायु परिवर्तनको ठूलो मूल्य चुकाइरहेको उनको भनाइ थियो ।
गुटेरेसले जलवायु न्यायलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै प्रदूषण गर्ने पक्षले त्यसको मूल्य तिर्नुपर्ने बताए । जलवायुजन्य विपद्बाट प्रभावित जोखिममा रहेका मुलुकलाई क्षतिपूर्ति र आवश्यक वित्तीय सहयोग उपलब्ध गराउनुपर्ने उनले बताए ।
जलवायु परिवर्तनबाट हुने हानि तथा क्षति सम्बोधन गर्ने कोषमा पर्याप्त रकम नरहेको उल्लेख गर्दै गुटेरेसले विकसित मुलुकलाई जलवायु वित्तसम्बन्धी प्रतिबद्धता पूरा गर्न आग्रह गरे । उनले जलवायु अनुकूलन वित्त तीन गुणा बढाउन र हानि तथा क्षति कोषमा थप स्रोत परिचालन गर्नसमेत आह्वान गरे ।
प्रकाशित मिति: ७ आश्विन २०८३, बुधबार












प्रतिक्रिया