काठमाडौं । सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलिँदा भदौयता ७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या बढ्दै गएपछि प्रभावित क्षेत्रमा स्वास्थ्य सतर्कता र परीक्षणलाई तीव्र पारिएको छ ।
दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीका अनुसार भदौ १ गतेदेखि असोज २ गतेसम्म विभिन्न वडाका ७ जनाको मृत्यु भएको हो । मृतकमध्ये केहीमा स्क्रब टाइफस पुष्टि भएको थियो भने केहीमा रोगका लक्षण देखिएका थिए । अधिकांश मृतकमा मधुमेह, कलेजो, मिर्गौला, उच्च रक्तचाप तथा दमजस्ता अन्य स्वास्थ्य समस्या पनि रहेको जनाइएको छ ।
दार्मामा असोज ५ गतेसम्म १९१ जनाको परीक्षण गर्दा ६० जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको अध्यक्ष केसीले बताए । जिल्ला अस्पताल सल्यानका सूचना अधिकारी प्रतिक भट्टका अनुसार दार्मा र बागचौर नगरपालिकामा गरिएको परीक्षणबाट हालसम्म १९० जनामा संक्रमण पुष्टि भइसकेको छ । निजी स्वास्थ्य संस्थामा समेत परीक्षण भइरहेकाले वास्तविक संक्रमितको संख्या अझ बढी हुन सक्ने अनुमान गरिएको छ ।
दार्माका वडा नम्बर १, ५ र ६ बढी प्रभावित देखिएका छन् । संक्रमण कुमाखलगायत आसपासका क्षेत्रमा समेत फैलिएको आशंका गरिएको छ । यही अवस्थालाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरी परीक्षण, उपचार र जनचेतनामूलक कार्यक्रमलाई अघि बढाइएको छ ।
एक हजारभन्दा बढी परीक्षण किट आवश्यक
प्रकोप नियन्त्रणका लागि तत्काल कम्तीमा एक हजार थप परीक्षण किट आवश्यक रहेको स्थानीय तहले जनाएको छ । हालसम्म प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रबाट २०० र स्वास्थ्य सेवा कार्यालय सल्यानबाट २५० गरी ४५० किट दार्मा पठाइएको छ ।
दार्मा गाउँपालिका अध्यक्ष केसीले थप किट उपलब्ध गराउन सम्बन्धित निकायमा पत्राचार गरिएको बताए । कालीमाटी र कुमाख गाउँपालिका तथा बागचौर नगरपालिकाले समेत परीक्षण किट माग गरेका छन् ।
कर्णाली प्रदेश सरकारले थप एक हजार परीक्षण किट, आवश्यक औषधि र स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा पठाउने तयारी गरेको छ । मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश स्वास्थ्य सेवा निर्देशनालय र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई आवश्यक सामग्री तथा जनशक्ति परिचालन गर्न निर्देशन दिएका छन् ।
स्वास्थ्य सेवा कार्यालय सल्यानले स्क्रब टाइफस तथा डेंगुको परीक्षणसँगै उपचारमा आवश्यक औषधि उपलब्ध गराउन प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रसँग माग गरेको छ ।
सावधानी अपनाउन स्वास्थ्यकर्मीको आग्रह
जिल्ला अस्पताल सल्यानका सूचना अधिकारी प्रतिक भट्टले संक्रमण नियन्त्रणका लागि जनचेतना र समयमै परीक्षणलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
स्वास्थ्यकर्मीहरूले झाडी तथा जङ्गल क्षेत्रमा जाँदा शरीर पूरै ढाकिने कपडा र बुट लगाउन, सम्भावित लक्षण देखिएमा ढिलाइ नगरी स्वास्थ्य संस्थामा परीक्षण गराउन र चिकित्सकको सल्लाहअनुसार उपचार लिन आग्रह गरेका छन् ।
दार्मा गाउँपालिकाले पनि स्थानीय बासिन्दालाई विशेष सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ । संक्रमण फैलिएको अवस्थामा समयमै पहिचान, परीक्षण र उपचारसँगै जोखिम क्षेत्रका बासिन्दाले व्यक्तिगत सावधानी अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरूको जोड छ ।
प्रकाशित मिति: ७ आश्विन २०८३, बुधबार












प्रतिक्रिया