न्युयोर्क । मंगल ग्रहमा जीवनको सम्भावित प्रमाण खोजिरहेको नासाको पर्सीभरेन्स रोभरले प्राचीन जल प्रणालीसँगै विभिन्न खनिजमा पानीसँग भएको रासायनिक प्रतिक्रियाका महत्त्वपूर्ण प्रमाण फेला पारेको छ ।

सन् २०२३ सेप्टेम्बरमा मंगल ग्रहको जेजेरो क्रेटरको भित्री किनारमा पुगेको रोभरले वैज्ञानिकहरूले अपेक्षा गरेभन्दा फरक प्रकारको चट्टान फेला पारेको हो । प्राचीन तालको किनार भएकाले त्यहाँ अवसादी चट्टान पाइने अनुमान गरिएको थियो । तर, अनुसन्धानका क्रममा आग्नेय चट्टान भेटिएपछि मंगल ग्रहको प्राचीन भौगर्भिक इतिहासबारे नयाँ तथ्य खुलेका छन् ।

रोभरले अध्ययन गरेका चट्टानमा कम्तीमा तीन फरक समयमा पानीसँग रासायनिक प्रतिक्रिया भएको प्रमाण भेटिएको वैज्ञानिकहरूले बताएका छन् । कार्बनडाइअक्साइडयुक्त भूमिगत पानी, प्राचीन तालको पानी र त्यसपछि आएको तातो भूमिगत पानीले चट्टानको रासायनिक संरचना परिवर्तन गरेको पाइएको हो ।

रोभरमा जडित ‘सुपरक्याम’ उपकरणले प्रकाशको परावर्तन र लेजर प्रविधिमार्फत ६.५ मिटर दूरीसम्मका १८५ भन्दा बढी चट्टानको रासायनिक बनावट अध्ययन गरेको थियो । अध्ययनबाट ओलिभिन खनिज पानीसँगको प्रतिक्रियापछि कार्बोनेट र सिलिकामा परिवर्तन भएको प्रमाणसमेत भेटिएको छ ।

वैज्ञानिकहरूका अनुसार गहिराइमा म्याग्मा चिसिँदा बनेको ओलिभिन खनिज पछि सतह क्षय हुँदै जाँदा बाहिर आएको हुन सक्छ । त्यसपछि तालको पिँध र भूमिगत पानीको सम्पर्कमा पुग्दा यसको रासायनिक स्वरूप परिवर्तन भएको देखिएको छ ।

वैज्ञानिकहरूले यो क्षेत्रलाई प्राचीन मंगल ग्रहका विभिन्न जल प्रणालीहरू जोडिएको महत्त्वपूर्ण भौगर्भिक क्षेत्रका रूपमा हेरेका छन् । यस्तो खोजले मंगल ग्रहमा विगतमा पानी कति समय र कुन अवस्थामा विद्यमान थियो भन्ने बुझ्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

पर्ड्यु विश्वविद्यालयकी अनुसन्धानकर्ता तथा अध्ययनकी प्रमुख लेखिका क्यान्डिस बेडफोर्डले यो खोजले प्राचीन मंगल ग्रहको जलवायु र जीवनका लागि अनुकूल वातावरण कस्तो थियो भन्ने पुनर्निर्माण गर्न सहयोग पुग्ने बताएकी छन् ।

अध्ययन प्रतिवेदन ‘कम्युनिकेसन्स अर्थ एन्ड इन्भाइरोन्मेन्ट’ नामक वैज्ञानिक पत्रिकामा प्रकाशित भएको छ । वैज्ञानिकहरूले भने यी प्रमाणले मंगल ग्रहमा जीवन थियो भन्ने प्रत्यक्ष पुष्टि नगरे पनि विगतमा जीवनका लागि आवश्यक हुन सक्ने पानीयुक्त वातावरणबारे अनुसन्धानलाई थप बल दिएको बताएका छन् ।

  • नासा

प्रकाशित मिति: ७ आश्विन २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com