काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले पार्टी पुनर्गठन वा विशेष महाधिवेशनको आवश्यकता नरहेको बताएका छन्।

एमाले केन्द्रीय कमिटीको जारी बैठकमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै ओलीले महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई बीचमै हटाउने विषय औचित्यपूर्ण नरहेको बताए।

उनले आफूविरुद्ध विभिन्न प्रकारका षड्यन्त्र भइरहेको दाबी गर्दै पार्टी पुनर्गठनको बहस अहिले नै अघि बढाउनु उपयुक्त नभएको बताए।

‘महाधिवेशनले अध्यक्ष चुनेको एक वर्ष पनि भएको छैन। अहिले पुनर्गठनको कुरा उठ्नु स्वाभाविक होइन। मविरुद्ध धेरै खालका षड्यन्त्र भइरहेका छन्,’ ओलीले भने, ‘अहिले विशेष महाधिवेशन किन आवश्यक छ? राष्ट्रिय प्रतिनिधि परिषद् पनि बोलाउन आवश्यक छैन र त्यो बोलाउने समय पनि भएको छैन।’

आफूलाई अध्यक्ष पदबाट हटाउने प्रयास भए पनि त्यो सम्भव नहुने ओलीले बताए। आफ्नो उमेरलाई लिएर भइरहेको टिप्पणीप्रति पनि उनले असन्तुष्टि जनाए।

‘मलाई उमेर देखाउने? मेरो उमेरले के रोकेको छ? कपाल फुल्यो भन्दैमा हुन्छ? कोही म जति खटेर काम गर्न सक्नुहुन्छ?’ उनले प्रश्न गरे।

आफूमाथि प्रश्न उठाउने नेताहरूलाई आफ्नो कार्यशैली र अध्ययनलाई नजिकबाट हेर्नसमेत ओलीले चुनौती दिए।

‘ममाथि प्रश्न उठाउनेहरूले मसँग १५ दिन बसेर हेर्नुहोस्। मैले जति अध्ययन गर्नुहोस्, मैले जति खट्न सक्नुहोस् र ती कुरा सिक्नुहोस्,’ उनले भने।

बैठकमा ओलीले पार्टीको नीति र निर्णयविपरीत सामाजिक सञ्जालमा अभिव्यक्ति दिने नेता–कार्यकर्तामाथि विधानअनुसार कारबाही गर्ने चेतावनीसमेत दिएका छन्।

उनले विगतमा सामाजिक सञ्जालमार्फत व्यक्त गरिएका अभिव्यक्तिलाई तत्काल कारबाहीको आधार नबनाइए पनि अबदेखि पार्टी नीतिविपरीत लेख्ने वा बोल्ने कार्य स्वीकार्य नहुने बताए।

‘पार्टीको नीतिविपरीत कुनै पनि कुरा सामाजिक सञ्जालमा लेखेको वा बोलेको थाहा पाएमा विधानअनुसार कारबाही हुन्छ,’ ओलीले भने, ‘आजसम्म जसले जे–जे लेख्यो, लेख्यो। अबका मितिबाट लेख्न पाइँदैन। आजलाई कट अफ डेट मानेर कारबाही प्रक्रिया अगाडि बढाइनेछ।’

प्रकाशित मिति: ८ आश्विन २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com