काठमाडौं । नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने निर्णय गरेको छ।
एमाले सचिवालयको बिहीबार बसेको बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको हो। सचिवालयको निर्णयलाई अब केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ।
भण्डारीको पार्टी सदस्यताका विषयमा यसअघि एमालेभित्र लामो समयदेखि छलफल हुँदै आएको थियो। राष्ट्रपति पदमा रहँदा पार्टीको सक्रिय राजनीतिबाट अलग रहेकी भण्डारीलाई पुनः पार्टी राजनीतिमा फर्काउने विषयमा एमालेभित्र मतभिन्नता रहँदै आएको थियो।
राष्ट्रपति पदमा निर्वाचित भएपछि भण्डारीको पार्टी सदस्यता निष्क्रिय गरिएको थियो। राष्ट्राध्यक्षको जिम्मेवारीमा रहेको व्यक्ति सक्रिय पार्टी राजनीतिमा संलग्न हुन नमिल्ने तर्क गर्दै एमालेले उनको सदस्यता नवीकरण गरेको थिएन।
गत फागुनमा भएको निर्वाचनपछि पार्टीभित्र समीक्षा थालेको एमालेले जेठमा पार्टी सदस्यता खुलाउने निर्णय गरेको थियो। त्यससँगै भण्डारीको पार्टी सदस्यता र उनको आगामी राजनीतिक भूमिकाबारे पनि छलफल अघि बढेको थियो।
सचिवालयको पछिल्लो निर्णयसँगै भण्डारीलाई एमालेको वरिष्ठ नेताको जिम्मेवारी दिने प्रक्रिया अघि बढेको छ। अब केन्द्रीय कमिटीको बैठकले सचिवालयको निर्णय अनुमोदन गरेपछि उनको औपचारिक भूमिका तय हुनेछ।
प्रकाशित मिति: ८ आश्विन २०८३, बिहिबार












प्रतिक्रिया