काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले केन्द्रीय कमिटी बैठकमा आफूले राखेका प्रस्तावमाथि छलफल भएको बताएका छन्।

केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले आफूले उठाएका कतिपय विषय अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा समेटिने र कतिपय विषय समेटिन नसक्ने बताए।

‘कतिपय समावेश हुन्छन्, कतिपय हुँदैनन्। पार्टी हो, अब विचार राख्दै गर्नुपर्छ, छलफल गर्दै गर्नुपर्छ। केन्द्रीय कमिटीले गरेका निर्णयलाई कार्यान्वयनमा लानुपर्छ,’ उनले भने।

आफूले अध्यक्ष ओलीले सम्मानजनक रूपमा बिदा लिनुपर्ने प्रस्ताव राखेको भए पनि केन्द्रीय कमिटीले त्यसलाई स्वीकार नगरेको भट्टराईले बताए।

उनले उक्त विषयमा आगामी दिनमा पार्टीका विभिन्न कमिटीमा पुनः छलफल गर्दै जानुपर्ने धारणा राखे।

‘अब त्यो कुरालाई फेरि पछिका कमिटीमा छलफल गर्दै जानुपर्छ। सबै कुरा एकैपटक सकिँदैन,’ उनले भने।

भट्टराईले अब एमालेको मुख्य कार्यभार आगामी स्थानीय तहको निर्वाचनको तयारी रहेको बताए। निर्वाचनमा पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने उनको भनाइ थियो।

‘स्थानीय चुनावको तयारीका निम्ति पार्टी पूरा एक ढिक्का भएर, एकताबद्ध भएर जान्छ,’ उनले भने।

उनका अनुसार स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटलगायतका विषयमा तल्ला कमिटीलाई थप अधिकारसम्पन्न बनाइनेछ। उम्मेदवार छनोट गर्दा कार्यकर्ता र जनताको भावनालाई समेत ध्यान दिइने उनले बताए।

‘उम्मेदवार छनोटदेखि सबै कुरामा तलका कमिटीहरूलाई हामी अधिकारसम्पन्न बनाउँछौँ। कार्यकर्ताको भावना, जनताको भावनाअनुसारका उम्मेदवार छनोट गर्छौँ,’ भट्टराईले भने।

जनताले चाहेका विषय समेटेर घोषणापत्र तयार गरी निर्वाचनमा जाने पनि उनले बताए।

प्रकाशित मिति: ८ आश्विन २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com