एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै इरान, गाजा र मध्यपूर्वका विभिन्न क्षेत्रमा इजरायलले सञ्चालन गरिरहेको सैन्य कारबाहीको बचाउ गरेका छन्।
बिहीबार महासभामा सम्बोधनका लागि नेतान्याहु मञ्चमा उक्लिएलगत्तै दर्जनौँ प्रतिनिधिले विरोधस्वरूप सभाकक्ष छाडेका थिए। वाकआउटका बीच सम्बोधन गरेका नेतान्याहुले इजरायलले सैन्य अभियान जारी राख्ने बताएका थिए।
‘हामी जित्नेछौँ, हामीसँग अर्को कुनै विकल्प छैन,’ उनले भने।
आफ्नो सम्बोधनको विरोध गर्दै सभाकक्षबाट बाहिरिने प्रतिनिधिलाई लक्षित गर्दै नेतान्याहुले कडा टिप्पणीसमेत गरे। उनले इजरायलको सैन्य कारबाहीको आलोचना गर्नेहरूलाई सम्बोधन गर्दै विरोध गर्नेहरू सभाकक्षबाट बाहिरिन सक्ने बताएका थिए।
नेतान्याहुले गाजामा इजरायलले नरसंहार गरिरहेको आरोप अस्वीकार गरे। उनले इजरायली सैन्य कारबाहीलाई आफ्नो देशको सुरक्षासँग जोड्दै इरान र हमासविरुद्धको अभियानको बचाउ गरेका थिए।
नेतान्याहुको सम्बोधनअघि प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासले पूर्वरेकर्ड गरिएको भिडियो सन्देशमार्फत महासभालाई सम्बोधन गरेका थिए। संयुक्त राष्ट्रसङ्घका अनुसार प्यालेस्टिनी प्रतिनिधिमण्डललाई उच्चस्तरीय बहसमा भर्चुअल रूपमा सहभागी गराउने प्रस्ताव महासभाले पारित गरेको थियो।
अब्बासले पश्चिमी किनारमा इजरायलले विस्तार गरिरहेको बस्तीका कारण प्यालेस्टिनी जनताको अस्तित्व र दुई–राज्य समाधानमा गम्भीर चुनौती उत्पन्न भएको बताएका थिए। उनले गाजामा जारी सैन्य कारबाहीका कारण हत्या, विनाश, भोकमरी र विस्थापन बढेको आरोपसमेत लगाएका थिए।
नेतान्याहुले आफ्नो सम्बोधनका क्रममा इजरायलको आलोचना गर्ने विभिन्न देश र नेतामाथि पनि टिप्पणी गरे। बेलायत र फ्रान्सलगायतका देशले इजरायलमाथि लगाएका उपनिवेशवादसम्बन्धी आरोपको उनले प्रतिवाद गरे।
त्यसैगरी, उनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानमाथि पनि टिप्पणी गर्दै हमासलाई समर्थन गरेको आरोप लगाए। एर्दोगानले यसअघि महासभामा गाजा र पश्चिमी किनारका प्यालेस्टिनीले भोगिरहेको अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए।
नेतान्याहुको अभिव्यक्तिपछि टर्कीका सञ्चार निर्देशक बुरहानेत्तिन दुरानले राष्ट्रसङ्घको मञ्च प्रयोग गरेर टर्की र एर्दोगानमाथि आधारहीन आरोप लगाइएको प्रतिक्रिया दिएका छन्।
न्युयोर्कका मेयर जोहरान मम्दानीप्रति पनि नेतान्याहुले आलोचनात्मक टिप्पणी गरे। मम्दानीले नेतान्याहुविरुद्ध पक्राउको चेतावनी दिएको प्रसङ्ग उल्लेख गर्दै उनले मम्दानी मेयर बनेपछि न्युयोर्कका धेरै यहूदीले आफूलाई असुरक्षित महसुस गरेको दाबी गरे।
त्यसको जवाफमा मम्दानीको कार्यालयले नेतान्याहुले गाजामा इजरायलको कारबाहीसम्बन्धी आलोचनाबाट ध्यान मोड्न झूटा दाबी गरेको आरोप लगाएको छ।
सम्बोधनको अन्त्यमा नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वको प्रशंसा गरे। उनले तेहरानमाथि गरिएको संयुक्त हवाई कारबाहीले आफ्नो भनाइमा सभ्यताको रक्षा गर्न योगदान पुर्याएको दाबी गरे।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले भने यसै सत्रको सम्बोधनमा मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य, मानवीय सहायता प्रवाह र अन्तर्राष्ट्रिय कानुनको पालना गर्न आह्वान गरेका छन्। उनले गाजा र पश्चिमी किनारको अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गर्दै दुई–राज्य समाधान जोगाउनुपर्ने बताएका छन्।
प्रकाशित मिति: ९ आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया