काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्रीको स्वागतलाई लिएर भइरहेको चर्चाबारे टिप्पणी गर्दै आर्थिक रूपमा कमजोर मुलुकलाई अन्तर्राष्ट्रिय समुदायले दिने व्यवहारबारे यथार्थ स्वीकार गर्नुपर्ने बताएका छन्।
साम्पाङले खर्बौँ रुपैयाँ विदेशी ऋणको भारमा रहेको नेपाललाई अन्तर्राष्ट्रिय जगत्ले विशेष सम्मान नदिने भन्दै प्रधानमन्त्रीको स्वागतलाई लिएर सामाजिक सञ्जालमा भइरहेको बहसमा रास्वपा समर्थकहरूलाई चित्त नदुखाउन आग्रह गरेका छन्।
प्रधानमन्त्रीको स्वागत फितलो भएको विषय लुकाउन सरकार पक्षधरहरूले सामाजिक सञ्जालमा एआईबाट बनाइएका सामग्री तथा पुराना भिडियो प्रयोग गरेर भ्रम फैलाइरहेको आरोपसमेत उनले लगाए।
‘झुटो बोलेर इज्जत जोगिँदैन, हामी गरिब छौँ भने गरिब नै हौँ भन्न सक्नुपर्छ,’ साम्पाङले भने, ‘आफू गरिब भएर अर्काको भव्य घर र गाडी देखाउँदै घमण्ड गर्नुको कुनै अर्थ छैन। हामी जे हौँ, त्यही यथार्थ स्वीकार्नुपर्छ। त्यसैले एआईको नक्कली भिडियो बनाएर लाज छोप्ने प्रयास नगर्दा हुन्छ।’
छिमेकी चीनका नेताहरूलाई अमेरिकामा भव्य स्वागत गरिए पनि नेपालको प्रधानमन्त्रीलाई अपेक्षित सम्मान नदिइएको भन्ने चर्चातर्फ संकेत गर्दै साम्पाङले देशको आर्थिक अवस्था र अन्तर्राष्ट्रिय साखबीच सम्बन्ध हुने बताए।
‘रेड कार्पेट त धेरै परको कुरा भयो, मर्यादित स्वागतसमेत देखिएन। तल्लो श्रेणीको सामान्य कर्मचारी लिन पठाएर एउटा सानो कारिन्दा जस्तो व्यवहार गरिएको छ,’ उनले भने, ‘खर्बौँ ऋण लिएर बसेको देशलाई कसैले पनि विशेष सम्मान गर्दैन।’
यद्यपि, प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालका तर्फबाट उठाउनुपर्ने विषयमा भने साम्पाङले सुझाव दिएका छन्।
प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा हलुका वा गैरजिम्मेवार अभिव्यक्ति दिन नहुने उनको भनाइ छ।
‘नेपालले भारतको सीमा मिचेको रहेछ भनेर थाहा पाएँ अथवा सुरुङको लेदो निकाल्ने मेसिन संसारमै रहेनछ भन्नेजस्ता हलुका कुरा त्यहाँ गएर गर्नुहुँदैन, त्यसले देशको बेइज्जत हुन्छ,’ उनले भने।
प्रधानमन्त्रीले त्यसको सट्टा जलवायु न्यायको विषयलाई प्राथमिकताका साथ अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने साम्पाङको सुझाव छ। औद्योगिक राष्ट्रहरूको अत्यधिक कार्बन उत्सर्जनका कारण हिमनदी पग्लिरहेको र तिब्बतमा हिमताल फुटेर भोटेकोशीमा आएको बाढीले नेपालमा ठूलो जनधनको क्षति पुर्याएको विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्नुपर्ने उनले बताए।
बाढीपहिरोका कारण हजारौँ नागरिक प्रभावित भएको, सडक तथा पुलमा क्षति पुगेको उल्लेख गर्दै साम्पाङले पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्तिको माग गर्नुपर्ने बताए।
‘बाढीपहिरोले हजारौँ नागरिक प्रभावित भएका छन्, सडक र पुलहरू ध्वस्त छन्। त्यसको पुनर्निर्माणका लागि विश्व समुदायसँग क्षतिपूर्ति दाबी गर्नुपर्छ,’ उनले भने, ‘मेरो सल्लाह मान्ने हो भने विश्वसामु त्यो लेभलको कुरा राखेर क्षतिपूर्ति माग्नुपर्छ। होइन भने त त्यहाँ गएर एउटा र्याप गाएर आए हुन्छ।’
आफूले सधैँ तीतो सत्य बोल्ने गरेको बताउँदै साम्पाङले यथार्थपरक बहस र राजनीतिमा जोड दिए। भ्रम फैलाउनेभन्दा वास्तविक अवस्था स्वीकार गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।
प्रकाशित मिति: ९ आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया