टोकियो । पूर्वी जापानको कान्टो क्षेत्रमा आँधीपछि परेको भारी वर्षासँगै आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ। घटनामा तीनजना अझै बेपत्ता छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार मृतकमध्ये सातजना टोकियोको पूर्वमा पर्ने चिबा प्रिफेक्चरका तथा चारजना राजधानी टोकियोको दक्षिणपश्चिममा रहेको कानागावा प्रिफेक्चरका छन्।
जापानको सार्वजनिक प्रसारण संस्था एनएचकेका अनुसार कानागावा प्रिफेक्चरको योकोसुकामा पहिरोपछि बेपत्ता भएकी ७० वर्षीया महिलाको शवसमेत फेला परेको छ।
प्रहरी र अग्नि नियन्त्रक टोलीले बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्य जारी राखेका छन्।
सोमबार जापानको पूर्वी प्रशान्त तटमा पुगेको ‘डुजुआन’ आँधीका कारण कान्टो क्षेत्र र इजु टापुमा भारी वर्षा भएको थियो। भारी वर्षासँगै पहिरो र नदीमा बाढी आउँदा टोकियो आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको छ। चिबा प्रिफेक्चर सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये रहेको जनाइएको छ।
एनएचकेका अनुसार बिहीबार दिउँसोसम्म चिबा र कानागावा प्रिफेक्चरमा आँधीका कारण करिब एक हजार भवन पूर्ण रूपमा ध्वस्त, क्षतिग्रस्त वा डुबानमा परेका छन्।
उत्तरी चिबाको इम्बानु ताल क्षेत्रमा आँधीपछि केही बाँध भत्किँदा आसपासका बस्ती, धानखेत र सडकसमेत डुबानमा परेका थिए। पानीको सतह घट्दै गए पनि केही क्षेत्रमा बाढीको अवस्था अझै कायम रहेको र शुक्रबारसम्म पुनःस्थापनाको काम जारी रहेको बताइएको छ।
आँधीका कारण जनजीवनसँगै यातायात सेवा पनि प्रभावित भएको छ। शुक्रबार बिहान ६ बजेसम्म चिबा र कानागावा प्रिफेक्चरका करिब ११ हजार ७९० घरपरिवार विद्युत् सेवाबाट प्रभावित भएका थिए। चिबाका केही रेलमार्गमा सेवा स्थगित गर्नुका साथै केही मार्गमा सेवा कटौती गरिएको छ।
यसैबीच, जापानको मौसम विज्ञान विभागले यस सिजनको २६औँ आँधी आगामी दिनमा जापाननजिक पुग्न सक्ने जनाएको छ। उक्त आँधीका कारण ओकिनावालगायतका क्षेत्रमा समुद्रमा उच्च छाल उठ्नुका साथै खराब मौसमको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्रकाशित मिति: ९ आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया