काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनमा उठाएका विषयप्रति सकारात्मक धारणा व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भट्टराईले प्रधानमन्त्री शाहले युद्ध, अन्तर्राष्ट्रिय द्वन्द्व, घातक हतियारको बिक्री तथा व्यापारिक प्रतिस्पर्धाका कारण साना तथा कमजोर मुलुक र त्यहाँका नागरिकमाथि परेको नकारात्मक प्रभावबारे सम्बोधनमा विषय उठाएको उल्लेख गरेका छन्।
उनका अनुसार प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्या तथा आगामी दिनमा उत्पन्न हुन सक्ने विश्वव्यापी संकटबारे समेत अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन्।
भट्टराईले जलवायु न्यायसँगै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकताका विषयमा पनि प्रधानमन्त्री शाहले महासभामा धारणा राखेको बताएका छन्।
उनले यी विषय नेपालले विगतदेखि नै अन्तर्राष्ट्रिय मञ्चमा निरन्तर उठाउँदै आएको र वर्तमान अवस्थामा पनि प्राथमिकताका साथ जोड दिनुपर्ने विषय भएको उल्लेख गरेका छन्।
‘यी मुद्दा विगतमा पनि निरन्तर उठाइरहेकै विषय हुन् र आजका दिनमा नेपालले जोड दिनुपर्ने विषय यिनै हुन्,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘धन्यवाद प्रधानमन्त्रीज्यू!’
प्रकाशित मिति: ९ आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया