काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजीव खत्रीले दुई कार्यकाल राष्ट्रपति भइसकेकी व्यक्तिको राजनीतिक सक्रियतामाथि प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जालमार्फत खत्रीले नेकपा एमालेको वरिष्ठ नेतामा चयन भएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गर्दै दुई कार्यकाल राष्ट्रपति भइसकेपछि पनि राजनीतिक भूमिकामा फर्किन खोज्नुको औचित्यमाथि प्रश्न गरेका हुन् ।

उनले पूर्वराष्ट्रप्रमुखबाट आफूले पार्टीगत राजनीतिभन्दा माथि उठेर उच्चस्तरको मर्यादा र साझा भूमिका अपेक्षा गरेको बताएका छन् । पूर्वराष्ट्रप्रमुखका लागि कतिपय स्थान र जिम्मेवारीलाई दलगत सीमाभन्दा माथि राखेर साझा व्यक्तित्वका रूपमा अघि सार्नुपर्ने उनको धारणा छ ।

खत्रीले नेपालमा राष्ट्रपति भइसकेका व्यक्तिहरू पार्टीगत राजनीतिभन्दा माथि उठ्न नसकेको टिप्पणीसमेत गरेका छन् । उनले पूर्वराष्ट्रपति तथा उपराष्ट्रपति राजनीतिमा सक्रिय हुँदा त्यसलाई लोकतान्त्रिक अभ्यासका रूपमा व्याख्या गर्ने र पूर्वराजा ज्ञानेन्द्र शाहले सार्वजनिक अभिव्यक्ति दिँदा फरक ढंगले प्रश्न उठाउने प्रवृत्तिमाथि पनि प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, “दुई कार्यकाल राष्ट्रपति भएर पनि पूर्वराष्ट्रपतिको राजनीतिक भोक मेटिएन। देशका लागि के दिन बाँकी छ र उहाँको यो राजनीतिक भोक?”

खत्रीले राजनीतिमा कुनै एक व्यक्तिको उपस्थिति अपरिहार्य ठान्ने प्रवृत्तिमाथि समेत व्यंग्य गरेका छन् । आफू नभए देशको राजनीति नै ठप्प हुन्छ भन्ने सोच भ्रमपूर्ण रहेको उनको भनाइ छ ।

 

प्रकाशित मिति: ९ आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com