काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको एकता, सौहार्दता र सर्वसम्मतिका लागि आफूले निरन्तर प्रयास गर्दै आएको बताएका छन्।

महाधिवेशनको सन्दर्भमा वक्तव्य जारी गर्दै केसीले सहभागीबीच शतप्रतिशत सहमति र एकताको सम्भावना नरहेको अवस्था आए स्वस्थ, निष्पक्ष र गुटमुक्त लोकतान्त्रिक प्रतिस्पर्धालाई स्वीकार गर्नुपर्ने बताएका हुन्।

उनले पार्टीको वर्तमान अधिवेशनलाई नियमित सांगठनिक प्रक्रियाका रूपमा मात्र नहेरी संगठनलाई नयाँ दिशा दिने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताएका छन्।

केसीले बदलिँदो सामाजिक–राजनीतिक परिवेश र वर्तमानका चुनौतीलाई गम्भीरतापूर्वक आत्मसात् गर्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार अग्रज पुस्ताको अनुभव, त्याग र मार्गदर्शनलाई नयाँ पुस्ताको ऊर्जा, साहस, नवप्रवर्तन र उत्साहसँग जोड्दै पार्टीलाई अघि बढाउनुपर्ने आवश्यकता छ।

उनले लोकतन्त्रको सुन्दरता विचार र विवेकको स्वतन्त्र प्रयोगमा निहित हुने भन्दै महाधिवेशनको प्रतिस्पर्धालाई कुनै पनि किसिमको अवाञ्छित हस्तक्षेप, दबाब वा विचार लाद्ने प्रवृत्तिबाट मुक्त राख्न आग्रह गरेका छन्।

‘यदि महाधिवेशनका सहभागी साथीहरूबीच शतप्रतिशत सहमति र एकताको सम्भावना नरहेको अवस्था आउँछ भने हामीले स्वस्थ, निष्पक्ष र गुटमुक्त लोकतान्त्रिक प्रतिस्पर्धालाई नै सहर्ष आत्मसात् गर्नुपर्छ,’ केसीले भनेका छन्।

उनले व्यक्तिगत आग्रह–पूर्वाग्रह र भिन्नताभन्दा माथि उठेर पार्टीको बृहत्तर हित, पुस्तान्तरणको सन्तुलन तथा संगठन सुदृढीकरणमा केन्द्रित हुन नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।

महाधिवेशनलाई मर्यादित, व्यवस्थित र सफल बनाउन सबै जिम्मेवार नेता तथा कार्यकर्ताको साझा दायित्व रहेको उल्लेख गर्दै केसीले एकताबद्ध भएर योगदान गर्न अपिल गरेका छन्।

प्रकाशित मिति: ९ आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com