काठमाडौं । काठमाडौंको बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–१४ बल्खु बस्ने ३४ वर्षीय रिच्याड भनिने सुमन लामामाथि गत असोज ५ गते राति करिब १० बजे बर्नहाट कलेजपछाडिको गल्लीमा खुकुरी प्रहार भएको थियो।

घटनामा गम्भीर घाइते लामाको उद्धारपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले प्राविधिक तथा सूक्ष्म अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा प्रहरीले असोज ९ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धादिङको खनियाबास गाउँपालिका–५ घर भई हाल तारकेश्वर नगरपालिका–५ बस्ने ३१ वर्षीय सन्तोष तामाङ र बाराको जितपुरसिमरा उपमहानगरपालिका घर भई बल्खु बस्ने ३० वर्षीय सोमबहादुर तामाङ रहेका छन्।

त्यस्तै, नुवाकोटको मेगम गाउँपालिका–६ घर भई हाल तारकेश्वर–४ बस्ने २५ वर्षीय सुवास भनिने सुनिल तामाङ तथा बाराको महागढीमाई नगरपालिका–१० घर भई हाल बल्खु बस्ने ३४ वर्षीय धीरज भनिने बलराम यादवलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट घटनामा प्रयोग भएको ब्यागसहितको एक थान खुकुरी, एक थान फलामको दाप तथा घटनाका क्रममा उनीहरूले लगाएका कपडा बरामद गरेको छ।

पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १० आश्विन २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com