चितवन । निरन्तरको भारी वर्षा र मुख्य राजमार्गमा खसेको पहिरोका कारण काठमाडौँ उपत्यकातर्फ जाँदै गरेका सयौँ मालबाहक सवारीसाधन बाटोमै अलपत्र परेका छन् । भारत र तराई–मधेशका जिल्लाबाट खाद्यान्नसहित अन्य वस्तु लिएर काठमाडौँ हिँडेका धेरै ट्रक बाटोमै अड्किएका छन् ।
काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको नारायणगढ बाइपास, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, फिसलिङ र कुरिनटारलगायत क्षेत्रमा मालवाहक गाडीहरूको लामो लाइन लागेको छ । सडक किनारमा गाडी रोकेर बस्नुपर्दा सवारी चालक तथा सहचालकहरूले खानेपानी, खाना र शौचालयजस्ता प्राथमिक आवश्यकताको चरम अभाव झेलिरहेका छन् ।
कपिलवस्तुबाट खाद्यान्न बोकेर काठमाडौँतर्फ हिँडेका चालक शंकर परियार असोज ८ गतेदेखि नारायणगढ बाइपासको सडक किनारमै रोकिएका छन् । गाडीभित्रै सुत्न र रात बिताउन बाध्य भएका उनी आफ्नो सास्ती पोख्दै भन्छन्, ‘खान पाउँदैन टाइममा, यहाँ बाथरुमको सुविधा पनि छैन । खाना खान पनि यहाँबाट अटो भाडा तिरेर पुग्नुपर्छ। अगाडि रामनगरसम्म जान पाए त खाना लाउन सबै मिल्थ्यो होला ।’ तीन दिनदेखि एउटै ठाउँमा रोकिँदा उनीजस्तै अन्य चालकहरू पनि गाडीभित्रै कष्टकर समय बिताइरहेका छन् ।
भारतको बिहारबाट सामान बोकेर आएका चालकको समस्या झनै जटिल बनेको छ । नेपाली सिम र अनलाइन भुक्तानी नचल्ने तथा हातमा नेपाली नगद नहुँदा चाउचाउ र साथीभाइको भर पर्नुपरेको छ । अधिकांश ट्रक चालकले जसोतसो ट्रकभित्रै खाना बनाए पनि शौचालयको समस्या प्रमुख बनेको छ ।
खाद्यान्न बोकेको ट्रकका चालक नन्दलाल चौधरी ट्रकभित्रै खाना बनाउँदै गरेको भेटिए । ‘बाटोमा बस्दा दुःख त धेरै छ, तर बाटोको समस्याले गर्दा ड्राइभरको जिन्दगी नै यस्तै हो। जस्तोसुकै भएपनि बजारमा खाद्यान्न त पुर्याइदिनै पर्यो, नपुर्याए ठाउँमा समस्या पर्छ,’ उनले सुनाए ।
चालकहरूले मानवीय असुविधाको झेलिरहेको गुनासो गरिरहँदा चितवनका ट्राफिक प्रमुख प्रहरी निरीक्षक अनिल थापा भने सवारी साधनहरूलाई सुरक्षित र बस्ती भएका स्थानहरूमा मात्र नियन्त्रित रूपमा रोकिएको बताउँछन् । गाडीहरूलाई जङ्गल क्षेत्रमा नरोकी आँपटारी, गुम्बा तथा मन्दिर आसपासका बस्तीमा रोकिएकाले नजिकैका होटल र सार्वजनिक शौचालयको प्रयोग गर्न सकिने प्रहरीको भनाइ छ।
सडकको वस्तुस्थितिबारे जानकारी दिँदै ट्राफिक प्रमुख थापाले पोखरातर्फको राजमार्ग खुला रहेपनि काठमाडौँ जाने मुख्य मार्गमा भने कुरिनटार नजिकै सडक धसिएको र सो भागको माथिल्लो तर्फबाट एकतर्फी गाडी चलाउन सकिने अवस्था रहेको बताए ।
उनकाअनुसार काठमाडौँ खण्डतर्फ मुख्य रूपमा धादिङ क्षेत्रका ६/७ ठाउँमा पहिरो खसेकाले बाटो मुख्य रूपमा अवरुद्ध भएको हो । थप पानी परेन र पहिरो हटाउने कार्य निरन्तर अघि बढ्यो भने छिट्टै बाटो खुलाउन सकिने अनुमान ट्राफिक प्रहरीको छ। बाटो खुल्ने पर्खाइमा बसेका सयौँ चालकहरू भने अहिले पनि सडक किनारमै राजमार्ग खुल्ने आशामा छन् ।
तस्बिर : निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: १० आश्विन २०८३, शनिबार












प्रतिक्रिया