काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किएका छन्।
प्रधानमन्त्री शाह केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनी महासभामा सहभागी हुन गत मंगलबार साँझ अमेरिका प्रस्थान गरेका थिए।
प्रधानमन्त्री शाहले महासभालाई ८ गते सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा उनले नेपालको प्राथमिकता, अन्तर्राष्ट्रिय सहकार्य तथा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको संकटबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए।
विशेषगरी उनले नेपालमा हालै आएको भोटेकोशी–त्रिशूली बाढीलाई जलवायु परिवर्तनका कारण बढ्दै गएको संकटको उदाहरणका रूपमा प्रस्तुत गरेका थिए। जलवायु संकट सिर्जना गर्न नेपालको योगदान न्यून भए पनि त्यसको गम्भीर असर नेपालजस्ता देशले भोगिरहेको उनको भनाइ थियो।
प्रधानमन्त्री शाहले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण जोखिम बढ्दै गएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय समुदायलाई यसतर्फ गम्भीर हुन आग्रह गरेका थिए।
‘जलवायु परिवर्तनले सीमा चिन्दैन’ भन्दै उनले हिमनदी पग्लिने, पहिरो र बाढीजस्ता प्राकृतिक जोखिम नेपालमा मात्र सीमित नरहेको बताएका थिए। यस्ता जोखिम चीन र भारतसहित हिमाली क्षेत्रका अन्य मुलुकमा समेत फैलिँदै गएको उनको भनाइ थियो।
प्रधानमन्त्री शाहले जलवायु न्यायलाई आर्थिक सहयोगमा मात्र सीमित गर्न नहुने धारणा राखेका थिए। जलवायु संकटबाट प्रभावित समुदायको अधिकार र न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उनले बताएका थिए।
उनले हिमाली समुदाय, साना टापु राष्ट्र, भूपरिवेष्टित तथा अति कम विकसित देश र भावी पुस्ताको आवाजलाई अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा समान महत्त्व दिनुपर्नेमा जोड दिएका थिए।
महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री शाहले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग भेटवार्ता समेत गरेका थिए। ती भेटवार्तामा नेपालका प्राथमिकता तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।
प्रकाशित मिति: १० आश्विन २०८३, शनिबार












प्रतिक्रिया