काठमाडौं । नेपाली कांग्रेसका इतर पक्षका नेता डा. शशांक कोइरालाले आफूहरूले तयारी गरिरहेको महाधिवेशन पार्टीको आगामी दिशाका लागि महत्त्वपूर्ण हुने बताएका छन्।
समानान्तर महाधिवेशनको तयारीबारे जानकारी दिन चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै कोइरालाले महाधिवेशनले पार्टीको भविष्यको बाटो तय गर्ने बताए।
उनले महाधिवेशन आफूहरूका लागि परीक्षाको समयसमेत भएको उल्लेख गर्दै यसलाई गम्भीरतापूर्वक अघि बढाइएको बताए।
‘यो हाम्रो लागि परीक्षाको समय पनि हो। महाधिवेशनले भविष्यको बाटो देखाउँछ। त्यसैले यो अधिवेशन अत्यन्त महत्त्वपूर्ण छ। यसलाई हामीले गम्भीरतापूर्वक सोचेर अघि बढेका छौँ,’ उनले भने।
कोइरालाले पार्टीभित्र सबैलाई साथ लिएर अघि बढ्नुपर्नेमा जोड दिए। कांग्रेसलाई बलियो विचार भएको पुरानो पार्टीका रूपमा अघि बढाउँदै नयाँ ऊर्जा र उत्साहका साथ अगाडि बढ्नुपर्ने उनको भनाइ थियो।
‘सबै सँगै हिँडौँ। नेपाली कांग्रेस बलियो विचार भएको पुरानो पार्टी हो। पुरानो हुँदैमा फाटेको पार्टी होइन। नयाँ जोसका साथ हामी अघि बढ्नुपर्छ,’ उनले भने।
पार्टीलाई अघि बढाउन एकता आवश्यक रहेको उल्लेख गर्दै कोइरालाले ‘एकताले नै अगाडि बढ्न शक्ति दिन्छ’ बताए।
उनले आफूहरूले गर्न लागेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन सफल बनाउन सबैलाई सक्रिय रूपमा लाग्नसमेत आग्रह गरे।
प्रकाशित मिति: १० आश्विन २०८३, शनिबार












प्रतिक्रिया