काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पार्टीको विदेश विभागका सदस्य विष्णु रिजालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई मध्यराति निवासबाट लगिएको घटनाप्रति आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै रिजालले प्रधानन्यायाधीश भइसकेका व्यक्तिलाई मध्यराति घरबाट लगेर पछि ‘उहाँकै सुरक्षाका लागि’ भन्दै बयान दिनु गम्भीर विषय भएको टिप्पणी गरेका छन्।
उनले यस्तो कार्यलाई ‘राज्य आतंकको पराकाष्ठा’ को संज्ञा दिँदै प्रश्न गरेका छन्।
‘यो त राज्य–आतंकको पराकाष्ठा भएन र? प्रधानन्यायाधीश भइसकेको व्यक्तिलाई मध्यरातमा अपहरणको शैलीमा घरबाट उठाउने अनि केही नलागेपछि निर्लज्जतापूर्वक ‘उहाँकै सुरक्षाका लागि’ भनेर बयान दिने?’ उनले भनेका छन्।
रिजालले सुरक्षाको कारणलाई आधार बनाउने हो भने प्रधानमन्त्री बालेन्द्र शाह स्वयंलाई पनि सुरक्षा खतरा हुनसक्ने भन्दै व्यङ्ग्यात्मक प्रश्न गरेका छन्।
‘त्यसो भए अब उहाँलाई प्रहरीले हरेक राति चौकीमा लगेर राख्छ त?’ उनले प्रश्न गरेका छन्।
रिजालले राज्य सञ्चालन ‘सनक, आशंका र षड्यन्त्रको मनोविज्ञान’ बाट गर्नु विनाशको बाटो भएको टिप्पणी गरेका छन्।
प्रधानमन्त्री शाहलाई रोक्नुपर्ने धारणा राख्दै उनले भनेका छन्, ‘राज्य सञ्चालन सनक, आशंका र षड्यन्त्रको मनोविज्ञानबाट गर्नु सर्वथा विनाशको बाटो हो। कसले रोक्ने हो बालेन्द्र शाहलाई, छिटो रोक्नु राम्रो हुन्छ।’
पूर्वप्रधानन्यायाधीश राणालाई प्रहरीले मध्यराति महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएको विषयलाई लिएर विभिन्न राजनीतिक नेताहरूले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाइरहेका छन्।
प्रकाशित मिति: ११ आश्विन २०८३, आइतबार















प्रतिक्रिया