काठमाडौं । नेपाली कांग्रेसको समानान्तर महाधिवेशनको तयारी गरिरहेको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले विभिन्न पदमा उम्मेदवारी दिन लाग्ने शुल्क निर्धारण गरेको छ।
डा. शशाङ्क कोइरालाको नेतृत्वमा गठित १५औँ महाधिवेशन आयोजक समितिअन्तर्गतको केन्द्रीय निर्वाचन समितिले तयार पारेको ‘नेपाली कांग्रेस निर्वाचन निर्देशिका–२०८३’ मा वडा सदस्यदेखि केन्द्रीय सभापतिसम्मका पदका लागि उम्मेदवारी शुल्क तोकिएको हो।
आन्तरिक प्रतिस्पर्धालाई व्यवस्थित र संस्थागत गर्ने उद्देश्यले उम्मेदवारी शुल्क निर्धारण गरिएको निर्वाचन समितिले जनाएको छ। निर्देशिकाको अनुसूची–२५ मा वडा तहदेखि केन्द्रसम्मका विभिन्न पदमा प्रतिस्पर्धा गर्ने उम्मेदवारले तिर्नुपर्ने शुल्क उल्लेख गरिएको छ।
निर्देशिकाअनुसार वडा कार्यसमितिको सभापतिका लागि २५० रुपैयाँ, उपसभापति, सचिव र सहसचिवका लागि १५० रुपैयाँ तथा सदस्यका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ। प्रदेश सभा क्षेत्रीय प्रतिनिधिका लागि २५० रुपैयाँ निर्धारण गरिएको छ।
गाउँपालिका कार्यसमिति सभापतिका लागि १ हजार रुपैयाँ, उपसभापति, सचिव र सहसचिवका लागि ५०० रुपैयाँ तथा सदस्यका लागि २५० रुपैयाँ तोकिएको छ।
नगरपालिका कार्यसमिति सभापतिका लागि २ हजार रुपैयाँ, उपसभापति र सचिवका लागि १ हजार ५०० रुपैयाँ, सहसचिवका लागि १ हजार रुपैयाँ तथा सदस्यका लागि ५०० रुपैयाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको छ।
त्यस्तै, महानगरपालिका र उपमहानगरपालिका कार्यसमिति सभापतिका लागि २ हजार ५०० रुपैयाँ, उपसभापति र सचिवका लागि १ हजार ५०० रुपैयाँ तथा सहसचिव र सदस्यका लागि १ हजार रुपैयाँ शुल्क तोकिएको छ।
प्रदेश सभा क्षेत्रीय कार्यसमितिको सभापतिका लागि २ हजार ५०० रुपैयाँ, उपसभापति र सचिवका लागि १ हजार ५०० रुपैयाँ तथा सहसचिव र सदस्यका लागि १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापतिका लागि ३ हजार ५०० रुपैयाँ, उपसभापति र सचिवका लागि २ हजार ५०० रुपैयाँ, सहसचिवका लागि २ हजार रुपैयाँ तथा सदस्यका लागि १ हजार रुपैयाँ तोकिएको छ।
निर्देशिकामा प्रदेश सभा क्षेत्रीय प्रतिनिधिका लागि ५०० रुपैयाँ, प्रदेश महाधिवेशन प्रतिनिधिका लागि १ हजार रुपैयाँ, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि २ हजार ५०० रुपैयाँ र केन्द्रीय महासमिति सदस्यका लागि ३ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ।
जिल्ला कार्यसमिति सभापतिका लागि ५ हजार रुपैयाँ, उपसभापति र सचिवका लागि ३ हजार ५०० रुपैयाँ, सहसचिवका लागि ३ हजार रुपैयाँ तथा सदस्यका लागि १ हजार ५०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
प्रदेश कार्यसमितिको सभापतिका लागि १० हजार रुपैयाँ, उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि ६ हजार रुपैयाँ तथा सदस्यका लागि ३ हजार रुपैयाँ तोकिएको छ।
केन्द्रीय कार्यसमितितर्फ सभापतिका लागि सबैभन्दा बढी ३० हजार रुपैयाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको छ। उपसभापति र महामन्त्रीका लागि २५ हजार रुपैयाँ, सहमहामन्त्रीका लागि २० हजार रुपैयाँ तथा केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ।

प्रकाशित मिति: ११ आश्विन २०८३, आइतबार















प्रतिक्रिया