काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पक्राउ गरेर करिब १२ घण्टापछि रिहा गरिएको घटनालाई लिएर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसद राजीव खत्रीले सरकारमाथि प्रश्न उठाएका छन्।
खत्रीले सामाजिक सञ्जालमार्फत राणालाई पक्राउ गर्नुको कारण र त्यसपछि उनलाई रिहा गर्नुको आधारबारे प्रश्न गरेका हुन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति महाराजगञ्जस्थित निवासबाट राणालाई नियन्त्रणमा लिएको थियो। पक्राउ गरेको करिब १२ घण्टापछि प्रहरीले उनलाई रिहा गरेको हो।
राणालाई ‘सुरक्षा थ्रेट’ भएका कारण सुरक्षाका लागि प्रहरी कार्यालयमा ल्याइएको प्रहरीको भनाइ सार्वजनिक भएपछि सांसद खत्रीले उक्त कारणमाथि प्रश्न उठाएका छन्।
‘चोलेन्द्र पक्राउबारे प्रहरीले भन्यो– “सुरक्षा थ्रेट” ! तर पक्राउको कारण गोप्य राखेर “छोडियो” भनियो। चोलेन्द्रमाथिको सुरक्षा खतरा कसरी टर्यो, पत्तै पाइएन,’ उनले फेसबुकमा लेखेका छन्।
खत्रीले राणालाई पक्राउ गर्नुपर्ने अवस्था र पछि त्यही सुरक्षा खतरा हटेको भनिएको विषयलाई व्यङ्ग्यात्मक ढंगले समेत प्रश्न गरेका छन्।
‘चोलेन्द्रको घर डुबानको उच्च जोखिममा थियो– बगाउने खतराका कारण बेलैमा सुरक्षित स्थानमा सारियो– अहिले वर्षा रोकियो– टन्टलापुर घाम लाग्यो अनि परिवारको जिम्मा लगाएर पठाइयो भन्ने कुरा पनि आखिर हैन रहेछ,’ उनले लेखेका छन्।
राणालाई निवासबाट नियन्त्रणमा लिने क्रममा प्रहरीले अपनाएको शैलीमाथि समेत खत्रीले आपत्ति जनाएका छन्। कुनै नागरिकले असुरक्षा महसुस गरे राज्यले सुरक्षा प्रदान गर्नुपर्ने उनको भनाइ छ।
राणालाई पक्राउ गर्ने शैलीलाई उनले ‘अपहरणको शैली’ भन्दै आलोचना गरेका छन्। साथै, रास्वपा सभापति रवि लामिछानेमाथि यसअघि गरिएको व्यवहारसँग तुलना गर्दै दुवै घटनामा अपनाइएको शैली गलत भएको टिप्पणी गरेका छन्।
‘कुनै नागरिकले असुरक्षा महसुस गरे सुरक्षाको प्रत्याभूति गराउने काम राज्यको हो। तर प्रहरीले जसरी अपहरणको शैलीमा घरबाट उठायो, यो तरिका सही भएन,’ खत्रीले भनेका छन्।
उनले थपेका छन्, ‘हिजो सभापति रवि लामिछानेमाथि गरिएको अपहरणको शैली पनि गलत थियो र आज चोलेन्द्रशमशेर राणामाथि पनि गलत नै भयो।’
प्रकाशित मिति: ११ आश्विन २०८३, आइतबार















प्रतिक्रिया