काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेट्न टेकुस्थित अपराध अनुसन्धान कार्यालय पुगेको आफ्ना टोलीलाई प्रहरीले रोक लगाएको घटनाप्रति आपत्ति जनाएको छ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आइतबार जारी गरेको विज्ञप्तिमा आयोगको संवैधानिक तथा कानुनी दायित्वअनुसार अनुगमनका लागि अपराध अनुसन्धान कार्यालय पुगेको टोलीलाई प्रवेशमा रोक लगाइएको जनाइएको छ।

आयोगको टोली करिब ४५ मिनेटसम्म कार्यालयको गेटमै बसेर पर्खिए पनि जबरासँग भेट गर्न नपाएपछि फर्किएको थियो।

घटनाप्रति आपत्ति जनाउँदै आयोगले प्रहरीबाट भएको व्यवहार संवैधानिक तथा कानुनी अधिकारविपरीत भएको जनाएको छ।

‘संवैधानिक तथा कानुनी अधिकारविपरीत नेपाल प्रहरीबाट गरिएको यस प्रकारको व्यवहारप्रति आयोग खेद प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

आयोगले आफ्नो संवैधानिक तथा कानुनी दायित्व पूरा गर्ने क्रममा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षणसमेत गराएको छ।

‘अतः निष्पक्ष छानबिन गरी संवैधानिक तथा कानुनी दायित्व पूरा गर्ने कार्यमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन र आयोगलाई प्राप्त संवैधानिक तथा कानुनी अधिकारको सम्मान गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ,’ आयोगले भनेको छ।

यसैबीच, पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले पक्राउ गरेको घटनाप्रति पनि आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

प्रकाशित मिति: ११ आश्विन २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com