काठमाडौं । नेकपा एमालेले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा घरबाट पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएको छ। एमालेले उक्त घटनालाई सरकारको ‘राज्य आतङ्क र बर्बरताको नमुना’ भनेको छ।

प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले असोज १० गते राति जबरालाई घरबाटै पक्राउ गरिएको घटनाबारे सरकारको आलोचना गरेका हुन्।

महरले पूर्वप्रधानन्यायाधीशजस्तो सम्मानित व्यक्तिलाई मध्यरातमा पक्राउ गरिएको भन्दै यसलाई राज्य र विधिको शासनको उल्लङ्घनका रूपमा व्याख्या गरे।

‘सरकारले पूर्वप्रधानन्यायाधीश जस्तो सम्मानित र प्रतिष्ठित व्यक्तिलाई मध्यरातमा अपहरण शैलीमा पक्राउ गरेर राज्य आतङ्क र बर्बर नमुना प्रस्तुत गरेको छ। यो राज्य र विधिको शासनको चरम उल्लङ्घन हो,’ उनले भने।

सरकार गठन भएदेखि नै पूर्वपदाधिकारीहरूलाई पक्राउ गर्ने शैली अपनाइएको भन्दै महरले सरकारको नियतमाथि प्रश्न उठाए।

‘सरकार बनेकै दिनदेखि नै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्वप्रधानन्यायाधीशसम्मलाई मध्यरातमा डाका शैलीमा पक्राउ गर्ने, घरमै गएर धरपकड गर्ने काम भइरहेको छ। यसले सरकारको लोकतान्त्रिक चरित्र होइन, निरङ्कुशता र स्वेच्छाचारिताको नमुना देखाउँछ,’ उनले भने।

प्रमुख सचेतक महरले जेन्जी पुस्ताको आन्दोलनको नाममा सरकारले आफ्ना गतिविधिलाई ढाकछोप गर्न खोजेको आरोपसमेत लगाए।

कानुन उल्लङ्घन गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याउनुपर्नेमा आफूहरूको कुनै विमति नरहेको बताउँदै उनले तथ्य र प्रमाणबिनाको तथा प्रतिशोधमा आधारित पक्राउले विधिको शासनमाथि प्रश्न उठाउने बताए।

‘जोसुकै व्यक्तिले कानुन मिचेको छ भने उसलाई कानुनको दायरामा ल्याउनुपर्छ, यसमा कसैको विमति छैन। तर, तथ्य र प्रमाणबिना, प्रतिशोधका आधारमा पूर्वाग्रही भएर गरिने पक्राउले कानुनको शासनलाई नै गिज्याउँछ,’ उनले भने।

महरले सरकारले नागरिकको मान–मर्यादा, व्यक्तिगत स्वतन्त्रता र मानवअधिकारको सम्मान गर्नुपर्ने बताए। मध्यरातमा पक्राउ गर्ने र तर्साउने शैलीले लोकतन्त्र बलियो नहुने उनको भनाइ थियो।

‘मान्छेलाई तर्साउने, धम्क्याउने, मध्यरातमा पक्राउ गरेर हुर्मत लिने काम अहिलेको सरकारको मुख्य शैली बनेको छ। यो विधिको शासन हो कि जसको शक्ति उसैको भक्ति भन्ने शैलीको निरङ्कुशता ?’ उनले प्रश्न गरे।

कानुनभन्दा माथि कोही नरहेको भए पनि कानुन कार्यान्वयनका क्रममा सरकारले अपनाउने प्रक्रिया लोकतान्त्रिक मूल्य र संस्कारअनुकूल हुनुपर्ने महरले बताए।

प्रकाशित मिति: १२ आश्विन २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com