काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई आइतबार पक्राउ गरी करिब १२ घण्टापछि रिहा गरिएको घटनाबारे सरकारले हालसम्म स्पष्ट कारण सार्वजनिक गरेको छैन।

राणालाई कुन कसुरमा पक्राउ गरिएको हो र किन रिहा गरिएको हो भन्ने विषयमा प्रतिनिधिसभादेखि सामाजिक सञ्जालसम्म प्रश्न उठिरहेका छन्। तर, पक्राउको कानुनी आधार र रिहाइको कारणबारे सरकारबाट औपचारिक धारणा सार्वजनिक भएको छैन।

राणालाई पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले भने ‘सुरक्षा थ्रेट’का कारण उनलाई कार्यालयमा ल्याइएको बताउँदै आएको छ। तर, उक्त कारणलाई लिएर सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै केही सांसदले समेत प्रश्न उठाएका छन्।

रास्वपा सांसद राजीव खत्रीले राणाको पक्राउको कारणलाई लिएर व्यंग्यात्मक टिप्पणी गरेका छन्। अर्की सांसद रञ्जु दर्शनाले पनि पक्राउ गर्ने क्रममा ‘सुर र ताल’ नमिलेको भन्दै सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएकी छन्।

यसबीच, रास्वपा भने पार्टीका रूपमा उक्त घटनाबारे विस्तृत धारणा सार्वजनिक नगरी बसेको छ।

आइतबार राति पार्टी सभापति रवि लामिछानेले बाढी–पहिरो प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउँदै विज्ञप्ति जारी गरेका थिए। तर, आफ्नै नेतृत्वको सरकारले राणालाई पक्राउ गरेको घटनाबारे भने उक्त विज्ञप्तिमा कुनै उल्लेख गरिएको थिएन।

लामिछानेले विज्ञप्तिमार्फत सरकारलाई भनेका थिए, ‘यस विषम परिस्थितिमा सरकारले गरिरहेको हालको प्रयासलाई थप गति प्रदान गर्दै प्रभावित क्षेत्रमा राहत वितरण, बेपत्ता नागरिकहरूको खोजी र घाइतेको उपचारलाई अझै युद्धस्तरमा अगाडि बढाउन हामी नेपाल सरकारसँग आग्रह गर्दछौँ।’

चोलेन्द्र पक्राउ प्रकरणबारे पार्टीले थप धारणा सार्वजनिक गर्न आवश्यक नरहेको रास्वपा प्रवक्ता जगदीश खरेलले बताएका छन्।

प्रहरीले राणालाई सुरक्षा कारणले कार्यालयमा ल्याइएको बताएको र राणाकै तर्फबाट पनि आफ्नो सुरक्षाको माग गर्दै निवेदन परेको भन्दै खरेलले विषय सुरक्षासँग सम्बन्धित रहेको पार्टीको बुझाइ रहेको बताए।

‘यसमा सुरक्षा निकायले जवाफ दिइसक्यो। अब सरकारले उहाँको सुरक्षा व्यवस्था मिलाउँछ। उहाँको तर्फबाट पनि निवेदन आएकाले सरोकार सुरक्षाको मात्रै हो भन्ने देखियो। यसमा पार्टी थप बोलिरहनु आवश्यक छैन,’ खरेलले भने।

यसअघि रास्वपा सभापति लामिछानेले सरकारका कामकारबाहीमाथि प्रश्न उठाउँदै सार्वजनिक रूपमा जवाफ माग्ने गरेको स्मरण गर्दै अहिले आफ्नै नेतृत्वको सरकारसँग सम्बन्धित घटनामा पार्टीको भूमिकाबारे पनि प्रश्न उठ्न थालेको छ।

प्रकाशित मिति: १२ आश्विन २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com