काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यराति नियन्त्रणमा लिएको घटनाप्रति सर्वोच्च अदालतको पूर्ण बैठकले आपत्ति जनाएपछि प्रधानन्यायाधीश मनोजकुमार शर्मा र नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीबीच भेटवार्ता भएको छ।

प्रधानन्यायाधीश शर्मालाई भेट्न आइजिपी कार्की मंगलबार दिउँसो सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्च स्रोतका अनुसार प्रधानन्यायाधीशको कार्यकक्षमा दुईबीच करिब ४५ मिनेट ‘वान–अन–वान’ छलफल भएको थियो।

आइजिपी कार्की दिउँसो करिब ४ः१५ बजे सर्वोच्च पुगेका थिए। प्रधानन्यायाधीश शर्मा र कार्कीबीच पौने ५ बजेसम्म छलफल भएको स्रोतले जनाएको छ।

भेटवार्तामा भएको कुराकानीबारे दुवै पक्षले औपचारिक रूपमा केही बताएका छैनन्। तर, स्रोतका अनुसार छलफल पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिइएको घटना, त्यसपछि उत्पन्न विवाद तथा प्रहरीले उल्लेख गरेको ‘सुरक्षा थ्रेट’कै विषयमा केन्द्रित थियो।

प्रहरीले सुरक्षा जोखिम रहेको दाबी गर्दै शनिबार राति जबरालाई काठमाडौंस्थित निवासबाट नियन्त्रणमा लिएको थियो। उनलाई करिब १० घण्टा प्रहरी कार्यालयमा राखिएको थियो। सरकार तथा प्रहरी प्रशासनले जबरालाई बढेको सुरक्षा जोखिमका कारण ‘रेस्क्यु’ गरिएको बताउँदै आएका छन्।

यता, पूर्वप्रधानन्यायाधीशलाई राति निवासबाट नियन्त्रणमा लिएर लामो समय प्रहरी कार्यालयमा राखिएको घटनाप्रति सर्वोच्च अदालतले संस्थागत असन्तुष्टि जनाएको थियो।

सोमबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले प्रहरीको उक्त कदमप्रति आपत्ति जनाउँदै औपचारिक विज्ञप्ति जारी गरेको थियो। पूर्ण बैठकले घटनालाई स्वेच्छाचारी कदमका रूपमा व्याख्या गर्दै कानुनी प्रक्रिया र संस्थागत मर्यादाबारे प्रश्न उठाएको थियो।

सर्वोच्चको पूर्ण बैठकबाट आपत्ति जनाउँदै विज्ञप्ति जारी भएको भोलिपल्ट प्रधानन्यायाधीश र प्रहरी महानिरीक्षकबीच भएको भेटवार्तालाई चोलेन्द्र पक्राउ प्रकरण र त्यससँग जोडिएको सुरक्षा संवेदनशीलताबारे छलफलका रूपमा हेरिएको छ।

यद्यपि, भेटवार्तामा उठेका विषय र दुवै पक्षबीच भएको सहमतिबारे भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति: १४ आश्विन २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com