काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा रहेका प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई दलीय राजनीतिमा मात्र सीमित नभई आफ्नो विज्ञता मुलुकको दीर्घकालीन विकास र नीति निर्माणमा उपयोग गर्न आग्रह गरेका छन्।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले परम्परागत राजनीतिक विषयभन्दा माथि उठेर दीर्घकालीन नीति निर्माण र नवीन सोचमा केन्द्रित हुन आग्रह गरेका हुन्।

छलफलमा उनले सांसदहरूलाई आफ्नो ज्ञान, सीप र अनुभवलाई देश विकासका योजना तथा नीतिमा रूपान्तरण गर्न सुझाव दिए।

‘तपाईंहरू आफैं प्राविधिक विषयमा जानकार हुनुहुन्छ र मुलुकको नीति निर्माण गर्ने थलोमै पुग्नुभएको छ। त्यसैले देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्,’ प्रधानमन्त्री शाहले भने।

प्रधानमन्त्री शाहले सांसदहरूले दलीय राजनीतिक जिम्मेवारीसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकता दिनुपर्ने बताए।

निर्वाचन तथा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा सांसदहरूले आफ्नो विशेषज्ञता मुलुकको विकास र नीति निर्माणमा प्रयोग गर्नुपर्ने उनको भनाइ थियो।

प्राविधिक जनशक्तिको ज्ञान र अनुभवलाई राज्यको नीति निर्माण तथा विकास प्रक्रियासँग जोड्न सके दीर्घकालीन रूपमा मुलुकलाई लाभ पुग्ने प्रधानमन्त्री शाहले बताएका थिए।

प्रकाशित मिति: १४ आश्विन २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com