काठमाडौं । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले जनताका जल्दाबल्दा समस्यामा परिणाम देखिने गरी काम गर्न सरकारलाई चुनौती दिएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले रेमिट्यान्समा निर्भर अर्थतन्त्र, युवा पलायन, बढ्दो महँगी र भ्रष्टाचारजस्ता विषयमा सरकार गम्भीर नदेखिएको भन्दै आलोचना गरे।
सरकारले अघि सारेको सुशासनको प्रतिबद्धता नारामै सीमित भएको आरोप लगाउँदै उनले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गरेर देखाउन सरकारलाई आग्रह गरे।
राईले निर्वाचन क्षेत्रमा विकास निर्माणका काम अलपत्र परेको तथा सरकारी विद्यालयको शैक्षिक गुणस्तर खस्किँदै गएको बताए। शिक्षा क्षेत्रको बेथितिप्रति उनले संसद्को ध्यानाकर्षण गराउँदै त्यसतर्फ सरकारको ठोस पहल आवश्यक रहेको बताए।
भ्रष्टाचारका पुराना फाइल खोल्ने सरकारको दाबीमाथि प्रश्न उठाउँदै राईले संसद्मा बलियो राजनीतिक समर्थन रहेको अवस्थामा भ्रष्टाचारमा संलग्नमाथि कारबाही गर्न सरकारलाई चुनौती दिए। भ्रष्टाचार नियन्त्रणका लागि अघि बढाइने जुनसुकै प्रक्रियामा आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने उनले बताए।
‘गिरिबन्धु टी–स्टेट होस् वा वाइड बडी काण्ड, तपाईंहरूले ठूलो छाती भएको दाबी गर्नुहुन्थ्यो, के कुराले रोक्यो ? पपुलारिटीका लागि मात्र बोल्ने हो कि ?’ उनले प्रश्न गरे।
सरकारले जनसरोकारका विषयमा टालटुले नीति अपनाएको आरोप लगाउँदै राईले आफूहरूले पटक–पटक उठाउँदै आएको फ्रि भिसा र फ्रि टिकटको व्यवस्था तथा किसानका समस्यामा पनि सरकारले प्रभावकारी काम गर्न नसकेको बताए।
‘हामीले पटक–पटक उठाएको फ्रि भिसा र फ्रि टिकटको विषय होस् वा किसानका समस्या, सरकारले केवल टालटुले काम मात्र गरेको छ,’ उनले भने, ‘आफैँले खनेको खाल्डोमा आफैँ डुब्ने काम नहोस्, आन्दोलनकारीलाई जेल हालेर परिवर्तन आउँदैन।’
राईले ‘जेनजी’ आन्दोलनका क्रममा सरकारले दमन गरेको आरोप लगाउँदै सरकारको नियतमाथि प्रश्न उठाए। संसद् बैठक सञ्चालनमा नरहेको अवस्थामा संघीयता, लोकतन्त्र र समावेशिताविरुद्ध कुनै कदम नचाल्न उनले सरकारलाई चेतावनी दिए।
यस्ता विषयमा आफ्नो दल पूर्ण रूपमा सतर्क र सजग रहेको उल्लेख गर्दै राईले सरकारले जनआन्दोलन र परिवर्तनका उपलब्धिविरुद्ध जाने कुनै पनि कदम चाल्न नहुने बताए।
प्रकाशित मिति: १५ आश्विन २०८३, बिहिबार












प्रतिक्रिया