काठमाडौं । नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले कर्णालीप्रति राज्यले गर्दै आएको विभेद अन्त्य गर्न माग गरेकी छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै बरालले कर्णालीका समस्या संसद्मा उठाउँदा समेत गैरजिम्मेवार ढंगले प्रश्न गर्ने गरिएको गुनासो गरिन्। उनले कर्णालीका नागरिकलाई ‘दोस्रो दर्जा’का रूपमा हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताइन्।
‘कर्णालीको समस्या उठाउँदा हिजो तिम्रा बाले के गरे भनेर प्रश्न गरिन्छ। आज सुशासनको कुरा गर्नेहरूले कर्णालीका लागि के गरे भनेर म प्रश्न गर्छु,’ उनले भनिन्।
कर्णाली राजमार्गलाई दुई लेनमा स्तरोन्नति गर्न ठूलो बजेट आवश्यक रहेको उल्लेख गर्दै बरालले सरकारले त्यसअनुसार बजेट विनियोजन नगरेको बताइन्। उनका अनुसार कर्णाली राजमार्गका लागि करिब ८४ अर्ब रुपैयाँ आवश्यक पर्ने अवस्थामा बजेटमा १ अर्ब रुपैयाँ मात्र छुट्याइएको छ।
उनले कालीकोट विमानस्थल निर्माण भएको दशकौँ बितिसक्दा पनि नियमित हवाई सेवा सञ्चालन हुन नसकेको तथा कर्णालीका सडकहरू ठाउँ–ठाउँमा जीर्ण अवस्थामा रहेको बताइन्।
कर्णाली प्राकृतिक स्रोत र सम्भावनाले सम्पन्न भए पनि राज्यको पर्याप्त ध्यान पुग्न नसकेको उनको भनाइ थियो। पेट्रोलियम पदार्थ, पर्यटन तथा जडीबुटीमा कर्णालीमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनले ती सम्भावनाको उपयोग गर्न राज्यले आवश्यक वातावरण बनाउनुपर्ने बताइन्।
फुकोट कर्णाली जलविद्युत् आयोजनाको विषयमा आफूहरूले सर्वोच्च अदालतमा रिट दायर गरेको र त्यसपछि नेपालको हितमा २१ दशमलव ९ प्रतिशत सेयर सुनिश्चित हुने फैसला आएको पनि बरालले स्मरण गराइन्।
भारतसँगको सहकार्यका विषयमा उनले नेपालको स्वाभिमान र स्रोतसाधनको अधिकारलाई प्राथमिकतामा राख्नुपर्ने बताइन्। ‘सहयोग गर्नुहोस् तर हामीलाई दया नदेखाउनुहोस्। जमिन, माटो र पानी हाम्रो हो, तपाईंको पैसा मात्र हो। हाम्रो स्वाभिमान बराबर छ,’ उनले भनिन्।
प्रकाशित मिति: १५ आश्विन २०८३, बिहिबार












प्रतिक्रिया