एजेन्सी । फ्लाई दुबईको विमानमा सहचालकबाट गम्भीर आक्रमणमा परेका भारतीय पाइलट क्याप्टेन स्मित मच्छारले घाइते अवस्थामै ककपिटको ढोका खोलेर १७० भन्दा बढी यात्रुको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेलेका छन्।

दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाई दुबईको एफजेट–१०७३ उडानमा रहेका मच्छारमाथि उनका सहचालकले ककपिटभित्रै आक्रमण गरेका थिए। आफू निरन्तर आक्रमणमा परिरहेको र विमान नियन्त्रणबाहिर गएर दुर्घटनातर्फ उन्मुख भएको महसुस गरेपछि उनले यात्रुको जीवन जोगाउन अन्तिम प्रयासस्वरूप ककपिटको ढोका खोलेका थिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भिडियो कुराकानीका क्रममा मच्छारले आफू घाइते भएर ककपिटको भुइँमा लडिरहेको अवस्थामा समेत यात्रुलाई बचाउने उद्देश्यले बाँकी रहेको शक्ति प्रयोग गरेर ढोका खोलेको बताएका छन्। ढोका खुलेपछि विमानमा रहेका यात्रुहरू ककपिटमा प्रवेश गरी आक्रमणकारी सहचालकलाई नियन्त्रणमा लिन सफल भएका थिए।

उक्त विमान उडेको करिब साढे दुई घण्टापछि करिब ५ हजार २०० मिटर अर्थात् १७ हजार फिटभन्दा बढी उचाइ गुमाएको थियो। विमानले सुरुमा एयर ट्राफिक कन्ट्रोललाई आपत्कालीन संकेत पठाएको थियो। त्यसलगत्तै विमान अपहरण वा नियन्त्रण कब्जामा परेको संकेत दिने ‘स्क्वक ७५००’ कोड प्रसारण गरिएको थियो।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पछि सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार एक पाइलटले अर्का पाइलटमाथि चक्कु प्रहार गरी विमान दुर्घटना गराउने प्रयास गरेका थिए। घटनाका क्रममा विमानमा यात्रुका रूपमा रहेका दुई पूर्वसैनिक पाइलटसहित अन्य यात्रुले आक्रमणकारी सहचालकलाई नियन्त्रणमा लिएका थिए।

त्यसपछि पूर्वसैनिक पाइलटहरूले विमानको नियन्त्रण सम्हाल्दै स्थानीय समयअनुसार बिहान ६ः५८ बजे उत्तरपश्चिमी साउदी अरबको तबुक विमानस्थलमा विमानलाई सुरक्षित अवतरण गराएका थिए।

घटनापछि मच्छारलाई सुरुमा तबुकस्थित अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। थप उपचारका लागि उनलाई अबु धाबी लगिएको हो। उनको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको जनाइएको छ।

करिब १७ वर्षदेखि व्यावसायिक उडान भरिरहेका मच्छारले विमानभित्रको अवस्थाबारे आफूलाई स्पष्ट जानकारी रहेको बताएका छन्। उनले कठिन परिस्थितिमा समेत यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर निर्णय लिएको उल्लेख गरेका छन्।

इजरायली प्रधानमन्त्री नेतान्याहुले मच्छारलाई ‘सच्चा नायक’ भन्दै प्रशंसा गरेका छन्। भारतीय प्रधानमन्त्री मोदीले पनि मच्छारको साहस, धैर्य र तत्काल निर्णय लिन सक्ने क्षमताका कारण ठूलो संख्यामा यात्रुको ज्यान जोगिएको बताएका छन्।

युएईस्थित भारतीय दूतावासका अनुसार मच्छारको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ। उपचाररत मच्छारले आफूलाई लागेको चोटलाई उडान यात्राकै एउटा कठिन हिस्साका रूपमा लिएको र पूर्ण रूपमा निको भएपछि पुनः विमान उडाउने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति: १६ आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com