काठमाडौं । ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएपछि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मा सम्पर्कविहिन भएका छन्।

स्रोतका अनुसार शर्मासहित चार जनाविरुद्ध पक्राउ प्रक्रिया अघि बढेपछि उनी बैंकबाट ‘फोर्स लिभ’ लिएर पर्सातर्फ गएका छन्। प्रहरीबाट पक्राउ गर्ने तयारी भइरहेको जानकारी पाएपछि उनले बैंकको मानव संसाधन (एचआर) विभागमा ‘फोर्स लिभ’सम्बन्धी इमेल पठाउन लगाएर पर्सा गएको स्रोतको दाबी छ।

पर्सा जिल्ला अदालतमा अञ्जली इन्टरनेसनलले दायर गरेको ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा तत्कालीन सनराइज बैंकका तत्कालीन सीईओसहित चार जनालाई प्रतिवादी बनाइएको छ। शर्मासहित तत्कालीन सनराइज बैंकका नायब प्रबन्धक केदार सिंह, वरिष्ठ अधिकृत सुबोध जोशी र कर्जा प्रशासनमा कार्यरत नायब प्रबन्धक रवीन्द्र केसीविरुद्ध मुद्दा दायर भएको थियो।

अदालतमा दायर अभियोगपत्रअनुसार तत्कालीन सनराइज बैंकबाट अञ्जली इन्टरनेसनलका लागि ३ करोड ८९ लाख ९४ हजार रुपैयाँ कर्जा स्वीकृत भएको थियो। तर, कर्जा असुलीका लागि धितो लिलामीसमेत गरिए पनि आफूले पाउनुपर्ने रकम प्राप्त नभएको दाबी मुद्दामा गरिएको छ।

उक्त प्रकरणमा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले प्रतिवादीहरूलाई पक्राउ गर्ने प्रक्रिया अघि बढाएको स्रोतको भनाइ छ। यद्यपि, शर्माको हालको अवस्थाबारे प्रहरीको औपचारिक धारणा सार्वजनिक भएको छैन।

प्रकाशित मिति: १६ आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com