काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीलाई कारबाही गर्ने सरकारको अभियानमा आफूहरूको पूर्ण साथ रहने दोहोर्याएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गर्दै शाहीले भ्रष्टाचारविरुद्ध सरकार अघि बढ्दा आफूहरू संसद्, सडक वा प्रधानमन्त्री कार्यालय अगाडि जहाँ आवश्यक पर्छ त्यहीँ उभिन तयार रहेको बताए।
उनले भने, ‘भ्रष्टाचारीलाई कारबाही गर्ने कुरामा हामी सरकारको साथमा छौँ। हामी कहाँ उभिनुपर्छ? संसदमा, सडकमा वा प्रधानमन्त्री कार्यालय अगाडि? जहाँ सुशासनको पक्षमा उभिनुपर्ने हो, हामी त्यहीँ उभिन तयार छौँ।’
सरकारलाई आवश्यक परे हस्ताक्षर, ल्याप्चे वा औँठाछाप दिनसमेत आफूहरू तयार रहेको उनले बताए। ‘हस्ताक्षर गर्नुपर्छ भने हस्ताक्षर गर्छौँ। ल्याप्चे लगाउनुपर्छ भने ल्याप्चे लगाउँछौँ। औँठाछाप दिनुपर्छ भने औँठाछाप दिन्छौँ,’ शाहीले भने।
तर उनले भ्रष्टाचारका ठूला काण्डमा संलग्न मुख्य व्यक्तिहरूमाथि अहिलेसम्म प्रभावकारी कारबाही हुन नसकेको भन्दै प्रश्न उठाए। ‘तर भ्रष्टाचारीलाई कारबाही हुनुपर्यो। आजसम्म छ महिनामा ठूला भ्रष्टाचार काण्डका एक जना पनि मुख्य नायक पक्राउ परेर जेल पुगेका छैनन्,’ उनले भने।
प्रकाशित मिति: १७ आश्विन २०८३, शनिबार











प्रतिक्रिया